बुधबार, वैशाख १०, २०८२

सबै अवरोध मानसिक

एलपी भानु शर्मा २०७८ फागुन ६ गते ८:५३

-पुराना आदतले नयाँ जीवन बन्दैन ।
त्यसैले :
नयाँ सोच,
नयाँ संकल्प,
नयाँ जाँगर,
नयाँ कर्म, र
नयाँ ध्यान-ज्ञान !

-घर त्यहाँ हुन्छ जहाँ आफ्नो हृदय छ । यदि यस घडी तपाईंको हृदय परमात्मामा छ भने तपाईं यस घडी परमधाममा हुनुहुन्छ ।

-कर्म बदल्ने होईन, सोच बदल्ने हो ।
किनभने म जस्तो सोच्दछु, कर्म त्यस्तै हुन थालिहाल्छन् ।

-हिँडिराखेर गन्तव्यमा पुगिने होइन ।
गन्तव्यको विपरीत दिशातिर हिँड्यो भने लक्ष्यमा कहिल्यै पुगिँदैन ।
त्यसकारण, हिँड्नु मात्र महत्त्वपूर्ण छैन । गन्तव्य र दिशाको बोध पनि चाहिन्छ ।

-जुन वस्तु आफ्नो हुँदै होइन र कहिल्यै हुने पनि छैन, उसलाई आफ्नो बनाउने असफल प्रयास-भौतिकवाद
जुन वस्तु आफूबाट कहिल्यै अलग थिएन र हुन पनि सक्दैन, त्यसलाई चिन्ने प्रयास-अध्यात्म ।

-कामना छँदै श्वास सिद्धिए मृत्यु ।
श्वास छँदै कामना सिद्धिए मोक्ष !

-रामलाई काम बनाउनु – पाप
कामलाई राम बनाउनु – पुण्य

-ईश्वर तत्त्वसँग हार्दिक सम्बन्ध बनाउनु नै विराटता, शान्ति, प्रसन्नता, आनन्द, प्रेम, भाईचारा, सिर्जनशीलता, अमृत, चैतन्यता आदि दिव्य गुणहरूसँग स्थायी सम्बन्ध बनाउनु हो ।

-भगवानको विषयमा मेरो भाव जस्तो छ मेरो जीवन ठ्याक्कै उस्तै हुन्छ । उसको व्यापकताको मलाई बोध भयो भने म पनि व्यापक हुन्छु, उ छैन भन्ने भ्रम बोकेको छु भने म पनि अस्तित्वहिन हुन पुग्छु ।
ईश्वर ब्रह्माण्डको विराटतम् ऐना हो । धर्म-अध्यात्म त्यो ऐनालाई हेर्ने प्रकाश हो ।

प्रतिक्रिया