बिहीबार, वैशाख ११, २०८२

दुई अंकले नेप्से घट्दा २ अर्ब २७ करोडको कारोबार

नेपालखोज २०७८ फागुन ५ गते १५:४४

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुवै घटेको छ । अघिल्लो दिन १९ दशमलव ८४ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि एक दशमलव ९३ अंकले घटेर २७ सय ३२ दशमलव ५२ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स भने अघिल्लो दिनकै अंकमा अर्थात् पाँच सय १८ दशमलव ६५ मै सीमित भएको छ । दुई सय २७ कम्पनीको ३४ हजार तीन सय ४६ पटकको कारोबारमा ४० लाख १७ हजार चार सय २९ कित्ता सेयर खरिद–बिक्री भएको छ । आज कारोबार रकम दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६ सय ६० रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार हुँदा आज पाँचवटाको सूचक बढेर आठ समूहको घटेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव शून्य सात अंकले घटेर १७ सय ४५ दशमलव ९३ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ६ दशमलव दुई अंकले घटेर १२ हजार चार सय ५० दशमलव ९७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ६३ दशमलव ७४ अंकले घटेर १५ हजार ६५ दशमलव ९७ अंकमा झरेको छ । विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

जलविद्युत् समूहको सूचक भने दुई दशमलव ५९ अंकले बढेर ३२ सय ६८ दशमलव ८३ अंकमा पुग्दा ट्रेडिङ, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज तेह्रथुम पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ४७ प्रतिशतले बढेर ६ सय २५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य चार दशमलव ४६ प्र्रतिशतले घटेर १६ हजार ५१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता चार हजार नौ सय ६० रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ३७ लाख ३६ हजार एक सय ९७ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया