नेप्से २६ सय ६१ अंकमा, सातामा १७ अर्ब ७२ करोडको कारोबार

काठमाडौं । यो साता नेप्से २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा पुगेर खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५ सय ७ दशमलव ५८ अंकमा खुम्चिएको छ । सातामा २ सय ३० कम्पनीको २ लाख ५९ हजार ९ सय ९० पटकको कारोबारमा तीन करोड २९ लाख ३५ हजार दुई सय ४३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट यो साता कुल कारोबार रकम १७ अर्ब ७२ करोड २१ लाख १८ हजार १ सय ९६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने नेप्सेमा २ सय ३१ कम्पनीको २ लाख ४९ हजार २ सय ५२ पटकको कारोबारमा ३ करोड ५२ लाख २४ हजार २ सय ५७ कित्ता सेयर किनबेच भएको थियो । सोही आधारमा उक्त साता कुल कारोबार रकम १८ अर्ब १९ करोड ९० लाख ४७ हजार ७ सय ४ रुपैयाँ पुगेको थियो । यो साता नेप्स पाँच दिन नै खुला रहेकामा पहिलो, चौथो र पाँचौं दिन घटेको थियो भने दोस्रो र तेस्रो दिन बढेको थियो ।
जसमध्ये पहिलो दिन ३९ दशमलव ४ अंकले घटेर २ हजार ६ सय ९३ दशमलव १० अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा सीमित हुन पुगेको थियो । यसबीचको दिनमा पनि नेप्सेको घटबढ कायम थियो । यसैगरी पहिलो दिन ४ दशमलव ९९ अंंकले घटेर ५ सय १३ दशमलव ६४ अंकमा सीमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन १० दशमलव ३६ अंंकले घटेर ५ सय ७ दशमलव ५८ अंकमा सीमित हुन पुगेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, आदि अगाडि परेका थिए भने सेयर कारोबार भएको संख्याका आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका थिए ।
बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका थिए ।
प्रतिक्रिया