कांग्रेस एकीकरणमै गए हुन्न ?

प्रजातन्त्रहरू ‘बलियो’ हुँदै गएपछि यस्तो पनि अवस्था आउँछ । यौटा व्यक्ति-संस्था र नीति दुवैको स्रोत बन्न जान्छ । नेपाली कांग्रेसभित्र आजको यथार्थ हो यो । केही अपवादको अल्प समय खण्डबाहेक नेका ‘ट्रोइका’ मै चलेको हो । बीपी, गणेशमान र किसुनजीको । फेरि गणेशमान, किसुनजी र गिरिजा बाबुको । गणेशमान र किसुनजीपछि गिरिजाबाबुको समय पनि आजको शेरबहादुरजीको समयका झैं थिएन ।
आजको अवस्था एकदमै भिन्न छ । आज ने.का.मा प्रम शेरबहादुर देउवाजीले भनेकै कुरो हुन्छ । कुनै पनि विषयको समयसापेक्षता तथा सान्दर्भिकताको परिभाषा उहाँ मै निहीत भएको छ ।
कम्युनिस्टहरूसँगको सहकार्य नेकाभित्र कहिल्यै पनि एकमतताको विषय रहेन । सुवर्णजी र बीपी कोइरालाको पूरै समयावधिमा यो सम्भव भएन । वि.सं. २०४६ सालको पहिलो जनआन्दोलन ताका भएको कम्युनिस्टहरूसँगको सहकार्य नेकाभित्र निर्विवाद थिएन । गणेशमान सिंह र किसुनजीलाई कम्युनिस्टहरूप्रति झुकाव राख्ने भनिए पनि यो सत्य होइन । उहाँहरूका सम्मुख कम्युनिस्टहरूले २०३७ सालको जनमत संग्रहमा पञ्चायतलाई सघाएको तितो अनुभव थियो । यसर्थ, उहाँहरूले संयुक्त मोर्चाको नाउँमा कम्युनिस्टहरूलाई रिङभित्र राख्न चाहनुभएको हो । जबकि, गिरिजाप्रसाद कोइरालाको नजरमा बहुप्रचारित ‘माले-मशाले र मण्डले एकै हुन्’ यो सोच रहेको थियो ।
२०४७ गएको ३१ वर्ष भयो । तेस बेलाका घटनाहरूका जानकारहरू आज देखेका कुरा लेख्न छाडेका छन् । आज जो लेखेर अभिमत निर्माण गर्ने काममा छन्-ती त्यस कालखण्डका बारेमा अनभिज्ञ छन् । यसले गर्दा ०४६/४७ को आन्दोलनमा कम्युनिस्टसँग नेकाको संयुक्त मोर्चा अपरिहार्य थियो कि थिएन र के यसबाट नेकालाई लाभ भयो त? यसको सत्य जवाफ आइरहेको छैन । ०४६/४७ को आन्दोलनपूर्व र पछि २०४८ को पहिलो आमनिर्वाचनसम्म निरन्तर कम्युनिस्टहरूले नेकासँग चुनावी गठबन्धन गर्न दबाब दिइरह्यो । यस कालखण्डको वस्तुपरक अध्ययन हुनु जरुरी छ । हो, यस कुरामा दुईमत हुन सक्दैन कि दोस्रो जन आन्दोलनको सफलताका लागि कम्युनिस्टहरूसँगको सहकार्य र मोर्चा वस्तुपरक आवश्यकता थियो ।
मैले यी पंक्तिहरू लेख्दा किमार्थ पनि यो अर्थ लाग्नु हुन्न कि म नेकाको कम्युनिस्टहरूसँगको सहकार्यको विरोधमा छु । अहिले जुन उद्देश्यका लागि तथा जुन तर्कका साथ कम्युनिस्टहरूसँगको सत्ता गठबन्धनलाई अगाडि बढाउने कुरा आएको छ-यसलाई बुझ्न कठिन भएको छ । अब अगामी चुनावहरूसम्म कम्युनिस्टहरू समेतसँग गठबन्धनलाई निरन्तरता दिनका लागि हालै प्रम तथा नेकाका सभापति शेरबहादुर देउवाले भन्नुभएको छ- अहिलेको सत्ता गठबन्धनकै कारणले उहाँ प्रम हुनु भएको हो । यसर्थ, कुनै पनि कांग्रेसजनले गठबन्धनको विरोध गर्नु हुँदैन । चिढ्याउनु हुँदैन । हामी आगामी चुनावहरूसम्म गठबन्धनमै जाने हो । अर्थात, माओवादी,नेकपा समाजवादी र जसपासँग गठबन्धन कायमै राखेर चुनावमा जाने ।
कांग्रेसले चाहेको यस गठबन्धनको निरन्तरता के का लागि ? सरल रूपमा जवाफ खोज्ने हो भने पहिलो बझाई हुन्छ- १) एकल रूपमा नेका बहुमत ल्याउने ल्याकत राख्दैन । २) शेरबहादुरजीमा निर्वाचनपछिको संसद्बाट पुनः प्रम हुने इच्छा छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका पार्टीका साथ गठबन्धन गरी चुनावमा जाँदा नेकाको बहुमत एवं संख्यात्मक प्रधानता रहन्छ । प्रममा देउवाजीको दाबी स्वभाविक हुन्छ । ३) नेकाले आफ्नो नेतृत्वमा यसरी बहुमत ल्याउन सकेमा मुख्य विपक्षी एमालेलाई अझ कमजोर पार्न सकिन्छ । यो स्थितिमा हालै यो गठबन्धनको सरकारले हालै बनेको परिदृश्यअनुसार भारत-अमेरिकी धुरीको भरपर्दो नेपाली पक्ष बन्नेछ, यसबाट अनेकथरीले लाभान्वित भइरहने छन् ।
नेपालमा र नेकामा शेरबहादुरजी अहिले बलियो मानिनुहुन्छ । उहाँ प्रम पदको चिरन्तर आकांक्षी पनि हुनुहुन्छ । वर्तमान गठबन्धनको यसरी निरन्तरता अवश्यमेव् शेरबहादुरको हितमै हुन्छ । तर, यसबाट समग्रमा नेकालाई कतिको लाभ हुन्छ-यसको आकलन तथ्यगत रूपमा नेकाका नेता कार्यकर्ताहरूले गर्ने होलान् । नेकालाई दीर्घकालीन लाभ-हानि जे भए पनि, यदि शेरबहादुरले यही चाहनुभएको हो भने उहाँले गरेरै छाडनु हुन्छ-यो बुझे हुन्छ ।
शेरबहादुरजीले कांग्रेसका सबै पुराना मित्रहरूलाई परित्याग गरिसक्नुभएको छ । उपयोगी मानिसहरूको उपयोग गर्ने र पछि छोडदिने कुरामा उहाँ गिरिजाप्रसाद कोइरालालाई धेरै पछाडि छोडनुभएको छ । यस अर्थमा गठबन्धनका नयाँ मित्रहरू उहाँका समयोपयोगी साथी हुन सक्छन् । त्यसो भए यस मित्रतालाई अझ प्रबल तथा दह्रो किन न बनाउने ?
नेपाली कांग्रेस र माओवादी, नेकपा समाजवादी तथा जसपामा के नै आधारभूत अन्तर रहेको छ र ? भारत-अमेरिकाको दृष्टिकोण, वैदेशिक सहयोग तथा अनुदान प्राप्ति तथा प्रबन्धनमा समान सोच, संसदीय प्रणालीको सम्पादन विधिमा एकरूपता, संघीयता र गणतन्त्र, विकास-अर्थनीति, राज्यका शक्ति परिचालनका निकायहरूमा सहकार्य एवं भागबन्डा, जनप्रतिनिधित्व प्रणालीलाई हाँक्ने तरिकाजस्ता सवालहरूमा यिनीहरूका बीच लगभग एकैखाले सोच-विचार रहेको छ । यसो हुँदा बिथ्थाको गठबन्धन किन नि ? एकीकरणमै जानु श्रेयस्कर होइन र ? कमसे कम थोरै भए पनि राजनीतिको धमिलो रङ संग्लो हुन्छ कि ? गठबन्धनको सत्ता चिरन्तर तथा सत्ताको सुस्वादु भागिदारी ‘जत्र कुण्ड तत्र पानी’ को हिसाबबाट हुन्छ नै । यसर्थ, प्रमको नेपाली कांग्रेस गठबन्धनका मित्रहरूसँग पार्टी एकीकरणकै बाटोमा जाँदा उचित हुन्छ कि ?
प्रतिक्रिया