बुधबार, वैशाख १०, २०८२

ढाड कम्मर दुख्दा गर्नु पर्ने भुजङ्गासन

डा. हेमराज कोइराला २०७८ फागुन ३० गते २०:५१

जीवनको कुनै न कुनै कालखण्डमा ढाड-कम्मर दुख्ने समस्याले तपाईं हामी जो कोही पनि ग्रसित भएको हुनुपर्दछ। ढाड-कम्मर दुख्ने समस्या एक आम समस्या भए पनि यसको कारण अनेक हुन सक्छन् । ती कारणहरूमध्ये केही सामान्य एवं आम कारणहरू छन् भने केही कारणहरू एदाकदा देखापर्ने एवं विरलै घटित हुने कारणहरू छन् । आम कारणहरूमा मांशपेशीहरूको जकडन, इन्टर-भर्टेब्रल-डिक्सको चोट-पटक, बल्ज, ढाडको हड्डी खिइने रोग, नसा च्यापिने रोग, साइटिका, स्पाइनल क्यानल सागुरिने रोग, अष्टियो पोरोसिस, ढाड बाङ्गिने जस्ता रोगहरू पर्दछन् । विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डीको टीबी एङ्ककोलाइजिङ्ग स्पोन्डाईलाईटिस, क्यान्सर आदि पर्छन् । ढाड कम्मर दुख्ने समस्याको धेरै जस्तो अवस्थामा योग चिकित्साको विशेष भूमिका हुन्छ । त्यसमा पनि निम्नलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाइबाट छुटकारा पाउन सकिन्छ।

भुजङ्गासन :
संस्कृतमा भुजंङ्ग भनेको साँप हो। त्यसैले भुजंगासनलाई सर्पासना वा कोबरा पोज पनि भनिन्छ। आसन गर्दा हाम्रो शरीर सर्पजस्तो आकृतिमा स्थापित हुनेहुँदा यसलाई भुजङ्गासन भनिएको हो । यसको नियमित प्रयोगले हाम्रो ढाड कम्मर बलियो हुने लिवर पेट एवं मधुमेह जस्ता रोगहरूलाई पनि अत्यन्त फाइदाजनक छ।यस आसनको अभ्याले काँध, कुहिनो, ढाड र घाँटीलाई पनि बलियो बनाउँछ।

भुजङ्गासन गर्ने विधि :
क. यो आसन गर्नको लागि भुइँमा म्याट वा कुसन ओच्छ्याएर घोप्टो परेर सुत्नुहोस र दुबै गोडालाई आपसमा जोडिदिनुहोस र निधारलाई भुईमा अड्याएर राख्नु होस् ।
ख. अब, दुबै हत्केलालाई काँधको मुनि जमिनमा राख्नुहोला ।
ग. अब लामो, गहिरो श्वास लिदै पहिले टाउको अनि घाटि र अन्तमा छाती लाई अधिकतम पछाडि मोड्नुहोला ।
घ. यो आसन गर्दा नाभीभन्दा तलको भागले जमिन छोड्नु हुँदैन ।
ङ. माथि पुगिसकेपछि सामान्य श्वासमा रहनुहोस् र आधा मीनेट जति अडिएर बस्नुहोस् ।
च. त्यसपछि श्वास छोड्नुहोस् र विस्तारौ सामान्य अवश्थामा फर्कनुहोस् ।
छ. खुट्टाहरू फट्याउनुहोस् र मकरासनमा आराम गर्नुहोस् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया