म्याग्दीको मंगला गाउँपालिकामा छात्रावास बनाउन २७ लाख रुपैयाँ संकलन

काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका-३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले २७ लाख रुपैयाँ बढी रकम संकलन गरेका छन् । वि.सं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ संकलन समिति गठन गरी देश विदेशमा सञ्चालन गरिएको अभियानबाट २७ लाख ३५ हजार ४५४ रुपैयाँ संकलन भएको छ ।
उक्त रकमबाट स्थानीय गंगाबहादुर बुढाथोकीको करिब चार रोपनी जग्गा २५ लाख रुपैयाँमा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले बताए । उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा म्याग्दीको ७० लाख रुपैयाँ लागतमा दुईतले,चारकोठे छात्रावास भवन निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो ।
प्रदेश सरकारको ५० लाख रुपैयाँ सहयोगमा एक सय जनाको क्षमता रहने नयाँ भवन निर्माण पनि सुरु गरिएको छ । सोमबार हिजो विद्यालयमा कार्यक्रम आयोजना गरी चन्दादातालाई सम्मान गरिएको थियो । अर्थ संकलन अभियानमा जोडिएका र देश–विदेशमा रहेका बरङ्जावासी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीलगायतलाई सम्मान गरिएको हो ।
अभियानमा विद्यालयको मुक्तिनाथ र प्रभु बैंकको खातामा रहेको बचत रकम पाँच लाख ८० हजार ५०० रुपैयाँ समेत परिचालन गरिएको थियो । संकलित रकमबाट जग्गा खरिदसहित विभिन्न प्रयोजनमा करिब २७ लाख रुपैयाँ खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लागानी गरेको तर लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए । जिल्लामा पनि केन्द्र र प्रदेश सरकारबाट गरी एक करोड रुपैयाँ भन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन हुने गरेको जनाइएको छ ।
कार्यक्रममा मंगला ३ बरङ्जाका वडाअध्यक्ष कविन्द्र रोकाले महेन्द्ररत्न माविले शिक्षामा अग्रणी स्थान हासिल गरेको बताए । बरङ्जाकै धापुङ, महेश, दुर्दी, झाँक्रीपानी लगायतका स्थानबाट करिब डेढ घण्टा लगाएर विद्यालय आउने विद्यार्थीलाई छात्रावास बनेपछि सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया