बुधबार, वैशाख १०, २०८२

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

नेपालखोज २०७८ चैत २ गते ११:१२

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएकोे हो । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयपत्रका लागि विवरण दर्ताको काम हुँदै आएको थियो । त्यस्तै व्यास नगरपालिकाले पनि वडाबाटै दर्ता सम्पन्न गरिसकेको छ ।

शुक्लागण्डकीका १२ वटै वडामा विवरण दर्ताको काम थालिएको छ । शुक्लागण्डकी –१२ का वडाअध्यक्ष मनराज गुरुङका अनुसार वडामा सात दिन अभियान सञ्चालन हुने र प्रत्येक वडाका टोलमा विवरण दर्ताको काम गरिने उनले बताए । उनले भने, ‘सर्वसाधारणको सहजताका लागि टोल टोलमा पुगेर विवरण दर्ताको काम सुरु गरेका छौँ । चैत्र ५ गतेसम्म अभियान सञ्चालन हुनेछ ।’

डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको प्रशासनले जनाएको छ । हालसम्म जिल्लामा २३ हजारभन्दा बढीको विवरण दर्ता गरिएको । विवरण दर्ताका लागि प्रशासन कार्यालयमा दुईवटा स्टेशन स्थापना गरिएको छ । नागरिकता बनाउनेबित्तिकै परिचयपत्रका लागि विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । परिचयपत्रको विवरण अनलाइनबाट समेत बुझाउन सकिने र परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ ।

परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम, थर, जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नं र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

प्रतिक्रिया