संसारमा सबैभन्दा बढी बिकेका १० स्मार्टफोन

काठमाडौं । काउन्टर प्वाइन्टको एउटा नयाँ अध्ययनअनुसार Apple, Samsung तथा Xiaomi का स्मार्टफोनले २०२१ को टप- १० ग्लोबल स्मार्टफोनको सूचीमा स्थान पाएका छन् । Apple को iPhone का विभिन्न मोडलले यो सूचीको सात स्थानमा कब्जा जमाएका छन् जुन अहिलेसम्मको सर्वाधिक हो । यसैगरी Xiaomi का दुई तथा Samsung को एक फोन यो सूचीमा अटाएका छन् ।
जमेर बिक्री भयो iPhone
२०२१ का टप पाँच मोडलमा Apple कै फोन छन् । iPhone 12 सबैभन्दा बढि बिक्ने मोडल भएको छ भने त्यसपछि iPhone 12 Pro Max , iPhone 13 , iPhone 12 Pro तथा iPhone 11 बिक्रीका हिसाबले अग्रणी रहे । माथिका टप थ्री मोडलले मात्र एप्पलको कुल बिक्रीमा ४१ प्रतिशत योगदान दिए ।
काउन्टर प्वाइन्टले आफ्नो शोधमा भनेको छ- ‘iPhone 12 का अतिरिक्त हालै बजारमा आएको iPhone 13 सिरिजले पनि राम्रो प्रदर्शन गरिरहेको छ ।’
काउन्टर प्वाइन्टका अनुसार, ग्लोबल बजारमा ४,२०० भन्दा बढी एक्टिभ स्मार्टफोन मोडल थिए भने टप टेन सर्वाधिक बिक्ने मोडलले कुल फोन बिक्रीको १९ प्रतिशत स्थान ओगटेका थिए । २०२० मा यो तथ्यांक १६ प्रतिशत थियो ।
सामसुङको बढी बिकेको फोन
Samsung Galaxy A12 ले २०२१ मा सर्वाधिक बिक्री हुने फोनको सूचीमा छैटौं स्थान प्राप्त गरेको छ । लगभग सबै क्षेत्र तथा देशमा पूरै वर्ष A12 को माग मजबुत रह्यो । उत्तरी अमेरिका, ल्याटिन अमेरिका तथा पश्चिम युरोपमा यसको बजार शीर्ष स्थानमा थियो ।
सामसुङको A12 को फिचरजस्तो क्यामेरा सेटअप, ब्याट्री साइज, मेमोरी कन्फगरेसन तथा सफ्टवेयर सपोर्ट आदिले यो मोडललाई एक भ्याल्यु-फर-मनी प्रोडक्ट बनाएको पाइयो । त्यसैले ग्राहकले यसलाई निकै मन पराए । सामसुङले डिसेम्बर २०२१ मा लन्च भएको A12 को उत्तराधिकारी ग्यालेक्सी A13 (5G) ले यो गति कायम राख्ने अपेक्षा गरेको छ ।
रेडमीका दुई फोनको बिक्री
Xiaomi का Redmi 9A तथा Redmi 9 ले २०२१ मा आफ्नो ब्रान्डको कुल बिक्रीमा २२ प्रतिशत योगदान दिए । Xiaomi ले सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्यो । चीन, भारत तथा एशिया-प्यासेफिक क्षेत्रमा यसको बजार सबैभन्दा माथि थियो ।
संसारमा सबैभन्दा बढी बिकेका टप-१० फोन (२०२१)
- iPhone 12
- iPhone 12 Pro Max
- iPhone 13
- iPhone 12 Pro
- iPhone 11
- Samsung Galaxy A12
- Xiaomi Redmi 9A
- iPhone SE 2020
- iPhone 13 Pro Max
- Xiaomi Redmi 9
प्रतिक्रिया