बुधबार, वैशाख १०, २०८२

को कसको हो…?

उत्तम पुडासैनी २०७८ चैत २५ गते १०:३१

चुनावको मुखमा आएर काठमाडौंस्थित एकजना वडाध्यक्षले नेपाली कांग्रेसको सदस्यता परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको समाचारले राजनीतिलाई तरंगित बनाइदिएको छ । एमाले फुट्यो अब कांग्रेसको राज हो भन्दै खुट्टा उचाल्नेहरुका लागि यसले गतिलो झापड दिएको छ । राजनीतिका अनेक आयाम हुन्छन् । भारतमा भाजपाको उदय, आमआदमी पार्टीको प्रभाव र कांग्रेस आईभित्र देखापरेका अनेक समस्यालाई हामीले नजिकबाट नियालेका छौं । नेपालको इतिहासमा समेत राजनीतिक पार्टीका उतार चढावलाई हामीले बेहोरेका छौं ।जनता अनिर्णीत छ, यद्यपि निर्णायक भूमिका जनता मै निहित छ । बितेका दिनमा झैं जनता राजनीतिक ध्रुवमा विभक्त हुने क्रम साँघुरिँदै गएको छ । नेपाली राजनीतिमा देखा परेको यो शुभ संकेत हो । राजनीति विचारको लडाइँ हो । जनताले विचार र व्यक्तित्वका आधारमा आफ्नो अभिमत सार्वजनिक गर्नुपर्छ । जातिवाद र क्षेत्रवादको नाराभित्र गुम्सिएको राजनीति भयानक खतरनाक हुनसक्छ । निषेधको राजनीति लोकतन्त्रिक संस्कारविरुद्धको अभ्यास हो । स्थानीय निर्वाचनको गर्मागर्मी चर्किंदैगर्दा निषेधको राजनीतिका बाछिटाहरु देखापर्न थालेका छन् । यसले लोकतन्त्रलाई मात्र कमजोर बनाउँदैन, राजनीतिक संस्कारमाथि नै चुनौती खडा हुन्छ ।

राजनीतिमा कोही कसैको हुँदैन । संस्कार र विचारले डोर्याएको राजनीतिले निकासको मार्ग प्रशस्त गर्छ । राजनीति भनेको स्थिर विचारको भकारी पनि होइन । जनताको अन्तर मनको चाहना भनेको संस्कारयुक्त राजनीति नै हो । भ्रष्टाचारविहीन आचरण अनि सेवामुखी भावना अनि आधारभूत लचकता पनि हो । स्थानीय निर्वाचनमा सामान्यतया उम्मेदवारको व्यक्तिगत आचरण र इतिहास अनि वर्तमानको मूल्यांकन ज्यादा हुने गर्दछ । जुनसुकै पार्टीले चुनाव जितोस्, राजनीतिक संस्कार र सामाजिक चरित्र भएका मान्छेहरुले नै जित्नेछन् भन्ने मेरो विश्वास हो ।

आममतदातालाई कसैले कित्ताबन्दीभित्र नपार्नु होला । उनीहरुको विचार र विवेक कसैकोमा बन्धक छैन । को कसको हो, को कसको हो… कसैलाई पत्तो छैन । याद रहोस् पाँच वर्ष पोको पारेर राखेको सिन्दूर धुलोमा अनुवाद भएको पनि हुनसक्छ ।

प्रतिक्रिया