आइतबार, वैशाख ७, २०८२

क्यानको सूचना प्रविधि मेला क्यान इन्फोटेक नाम मात्रको भएको गुनासो

नेपालखोज २०७९ वैशाख ९ गते १९:५८

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको सूचना प्रविधि मेला क्यान इन्फोटेक नाम मात्रको भएको देखिएको छ । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सूचना प्रविधि मेला क्यान इन्फोटेक कर्मकाण्ड पूरा गर्नको लागि मात्रै आयोजना गरिएको देखिएको हो ।

विगत धेरै वर्ष अगाडिदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्य भएता पनि यो वर्षको मेलामा प्रिन्टर र ल्यापटप तथा गेम पार्लर भन्दा अन्य कुनै नयाँ प्रविधिको प्रदर्शनीमा देखिएको छैन । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिकरूपमा क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।

तर यसरी वर्षैपिच्छे सूचना प्रविधि मेला क्यान इन्फोटेक आयोजना गरिएता पनि विगतका वर्षहरुको भन्दा यो वर्षको मेला खासै नयाँ प्रविधिहरु प्रदर्शनी नदेखिएको अवलोकन गर्न आउने ग्राहकहरुले बताएका छन् । प्रदर्शनी अवलोकन गर्न आएका पवन श्रेष्ठले क्यान इन्फोटेकमा नयाँ प्रविधिभन्दा पनि ल्यापटपहरु मात्रै धेरै राखिएको बताए ।

उनले मोवाइल आइटम, गेम पार्लर र डिजिटल भुक्तानी सम्बन्धि सफ्टवेयर धेरै रहेको बताए । अहिलेको नयाँ नयाँ सफ्टवेयर धेरै भएकाले हामीले यस्तो नजान्ने उनको भनाई छ । श्रेष्ठले क्यान इन्फोटेक प्रवेश शुल्क महँगो भए अनुसार प्रदर्शनी बालबालिका र विद्यार्थीहरुलाई मात्रै भएको तर अलि बुढापाकाहरुको लागि काम नभएको बताए । त्यस्तै, अर्को अवलोकनकर्ता समर थापाले प्रदर्शनी हेर्न आए पनि खासै नयाँ केही पनि नभएको प्रतिक्रिया दिए ।

त्यस्तै, अर्का प्रदर्शनीमा हेर्न आउने गणेश थापाले पछिल्लो समय नेपाल नयाँ सूचना प्रविधिमा विकास गर्दै गएकाले आवश्यक सबै प्रविधिहरु अवलोकनमा पाएको बताए । प्रदर्शनीमा हेर्ने भन्दा पनि आइटी क्षेत्रका विद्यार्थीहरुको लागि निःशुल्क सिक्ने अवसर भएको उनको भनाई छ ।

क्यान इन्फोटेकमा अन्य आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्डहरू राखिएको छ । क्यान इन्फोटेकमा क्यानले साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षागरेको छ ।

प्रतिक्रिया