भोट !
सुनील सापकोटा
२०७९ वैशाख १० गते १०:२७

निर्वाचन फेरि आयो
भोट दिन जानुहोस्
पानी परे छाता ओडेर जानुहोस्
झगडा भए लाठी लिएर जानुहोस्
देशको मुहार फेर्ने हो भने
भोट दिन नचुक्नु होस्
पढेलेखेकालाई नदिनुहोस्
सोझा-साझालाई नदिनुहोस्
यिनले चलाउन सक्दैनन्
भोट त्यसलाई दिनुहोला
जसले भोट किनेर पनि जित्न सकोस्
भोट त्यसलाई हाल्नुहोस्
जसले गाउँ-घर थर्काएको होस् ।
नेता बनाउन पनि भोट दिनै पर्छ
नेता नभई देश चल्दैन
चाहे घिस्रेर चलाउन
चाहे ठेलेर चलाउन
जसरी चलोस्
जे गरी चलोस्
तपाईं-हाम्रो केको टाउको दुखाइ ?
पाँचको वर्षका लागि पुनः ढुक्क हुनुहोस्
अनि तकिया लगाएर सुत्नुहोस्
खानुहोस्, पिउनुहोस्, मोज गर्नुहोस्
तर भोट दिन न बिर्सिनुहोस्…।
सम्बन्धित
प्रतिक्रिया