तनहुँमा मतपत्र आइपुग्यो

दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ ।
तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको छ ।
ढुवानी गरिएका मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । ‘निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ’, ढकालले भने ।
निर्वाचन कार्यालयका अनुसार रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्रलगायत सामग्री आइपुगेको छ ।
तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए । रासस
प्रतिक्रिया