उहिलेको खेल : गुच्चा !

गुच्चा बाल्यकालमा सबैले खेलेको खेल । अचेल गुच्चा खेल्ने कम सजाउने बढी देखिन्छ । पहिले/पहिलेभन्दा अहिले धेरै किसिमको गुच्चा पाइन्छ तर यी गुच्चा खेलेको देख्दिनँ तर सजाएको देख्छु । गुच्चा धेरै पहिलेदेखि खेलिने प्रमाण मोहनजोदारोको अन्वेषण गर्ने बेला ढुङ्गाका साना साना गुच्चा भेटिएपछि अन्वेषकहरू आश्चर्यित भएका थिए ।
यो खेलको इतिहास ई.पू. २५०० भन्दा पुरानो भेटियो । इ.सं. ३०० तिरको रोमन कलाकृतिमा पनि बालकहरू गुच्चा खेलेको भेटिएको छ । सुरूमा ढुंगा र माटोको गुच्चा खेलिन्थ्यो भने आधुनिक युगमा गुच्चाको सुरुवात जर्मनबाट भएको हो १५औं शताब्दीमा जर्मनमा खेल सुरु भएको देखिन्छ भने १८औं शताब्दीको मध्यमा शिशा तथा सेरामिकका गुच्चा उत्पादन गर्ने ठूला/ठूला उद्योग खुलिसकेका थिए ।

नेपालको परिवेशमा कहिलेदेखि खेल्न थालिएको कुनै यकिन तथ्य भेटिँदैन । तर मेरो बुबाले उहाँकाे बाल्यकाल (वि.सं.१९८५-८६) तिर सानो/सानो ढुंगालाई घोटेर गोलो बनाइ गुड्काएर खेलेको सुनाउनुहुन्थ्यो । जसले के साबित हुन्छ भने ठूलाठालुका बच्चाहरूले सायद शिशाको गुच्चा खेल्थे होला, र त्यही देखासिखी बुबाहरूले ढुंगाको गुच्चा बनाउनुभयो होला ।
जेहोस् ३० को दशकसम्म पनि बाटोमा गुच्चा खेलेको निकै देखिन्थ्यो तर अचेल यो खेल बाटोमा खेलेको देखिँदैन । यो खेल मात्र होइन बाल्यकालमा सडकमा खेलिने माछा-माछा भ्यागुतो, पाँच गोट्टी, च्याम्पटी, इन्टु मिन्टु, लुकी-डुम आदि खेल पनि हराइसकेको छ ।
प्रतिक्रिया