बुधबार, वैशाख १०, २०८२

अध्यात्म र मोक्ष !

सुनील सापकोटा २०७९ वैशाख २१ गते ८:४९

हिजोआज साथीहरूसँग भेट हुँदा प्रायः यही विषयमा चिया गफ चल्छ । सायद म र मेरा साथीहरू प्रौढ अवस्थामा आइपुगेर हो कि ?

यो विषय विस्तृत र व्यापक छ । धर्म/अध्यात्म र मोक्षको कुरा ‘कुण्ड-कुण्ड पानी, मुन्ड-मुन्ड बुद्धि’ भने झैं यो विषय आ-आफ्नो ज्ञान र विश्वासको कुरामा आधारित छ । यसमा तर्कले काम नै गर्दैन ।

धर्म सन्तुष्टि हो । अध्यात्म ज्ञान हो। मोक्ष आनन्द हो ।
मलाई के लाग्छ भने- धर्म भनेको डर त्रास र भयबाट मुक्त हुन र निजी फाइदा प्राप्तिका लागि गरिने पूजापाठ, तीर्थ-व्रत, कर्मकाण्ड हो भने, आध्यात्मचाहिँ बुद्धको ‘अपो दिपो भव’ अर्थात् हरेक व्यक्तिमा भित्र रहेको अज्ञानता रुपी अन्धकार हटाइ प्रकाश रुपी ज्ञान प्राप्त गर्नु हो । उपनिषद्हरुमा पनि ज्ञानबाट आफूभित्र उज्यालो पार्ने विषयलाई नै अध्यात्म भनिएको छ ।

मलाई स्वर्ग र नर्क कतै छ भन्ने कुरामा विश्वास नभएको हुँदा मेरो विचारमा मोक्ष भनेको नि:स्वार्थ माया प्रेम हो । यसैबाट आनन्द प्राप्त हुन्छ ।

यहाँ धार्मिक र आध्यात्मिक दुवै मृत्युपश्चात् मोक्षको चाहना राख्छन् जो हुँदै हुँदैन । यो एउटा कल्पना हो । यो भ्रम हो । मोक्षको मार्ग वा साधन अनाशक्ति, वैराग्य, योग, ध्यान र समाधि धार्मिक ग्रन्थहरुमा बताइएको छ । जो सम्भव नै छैन । मेरा लागि त वर्तमान जीवन नै सत्य हो । यो जीवन हुँदाहुँदै मृत्युपछिको अवस्थाको म कल्पना गरेर दिमाग खराब गर्न चाहन्नँ ।

म ‘परोपकार पुण्य हो र परपीडा पाप हो’ भन्ने कुरामा विश्वास राख्छु । मलाई कतै स्वर्ग र नर्क होला भन्ने नै लाग्दैन । वर्तमान नै सत्य हो, शिव हो, सुन्दर हो । इति ।।

प्रतिक्रिया