२,२३८ अंकमा पुग्यो नेप्से, सातामा तीन दिन मात्र बजार खुल्दा ४ अर्बको कारोबार

काठमाडौं । नियमित कारोबारका लागि तीन कार्यदिन मात्र नेप्से खुलेका कारण यो साता नेप्से सूचक एवं कारोबार रकम दुवै घटेका छन् । नेप्से २२ सय अंकको हाराहारीमा आएर अडिएको छ भने कारोबार रकम चार अर्ब रुपैंयाँको हाराहारीमा रहेको छ । सोअनुरूप नेप्से सातामा २२ सय ३८ दशमलव ६२ अंकमा खुम्चिँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ३२ दशमलव ५५ अंकमा खुम्चिएको छ ।
नेप्सेमा जम्मा दुुई सय ३३ कम्पनीको ९३ हजार दुई सय २६ पटक मात्र सेयर किनबेच भएको छ । जसबाट यो साता एक करोड २२ लाख ५५ हजार आठ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ३४ करोड ७२ लाख ७९ हजार एक सय ८६ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै चार अर्ब रुपैयाँले कम हो । गत साता भने नेप्सेमा दुुई सय ३९ कम्पनीको एक लाख ६७ हजार सात सय ९८ पटकको कारोबारमा दुई करोड २५ लाख ६६ हजार ६० सेयर किनबेच भएको थियो । जसबाट उक्त साता आठ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँबराबरको कारोबार भएको थियो ।
यो साता दुई दिन सार्वजनिक बिदा परेका कारण पहिलो र तेस्रो दिन नेप्से बन्द थियो । खुलेको तीन कार्य दिनमा पनि दोस्रो, चौथो र पाँचौं दिन नै लगातार नेप्से घटेको थियो । सोही आधारमा यो साता नेप्से सूचक तथा कारोबार रकम दुवै नै गत साताको भन्दा कम देखिएको छ । जसअनुसार दोस्रो दिन ४८ दशमलव ७३ अंकले घटेर दुुई हजार तीन सय सात दशमलव ४४ अंकमा खुम्चिएको नेप्से पाँँचौं दिन पुनः ३७ दशमलव ६ अंकले घटेर दुुई हजार दुई सय ३८ दशमलव ६२ अंकमा खुम्चिएको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन आठ दशमलव ४५ अंंकले घटेर चार सय ४१ दशमलव ७९ अंकमा खुम्चिएकामा पाँचौं कारोबार दिन पनि चार दशमलव ३४ अंंकले घटेर चार सय ३२ दशमलव ५५ अंकमा सीमित हुन पुगेको थियो । यसबाहेकको तेस्रो दिनमा पनि दुवै सूचक घटेका थिए ।
बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा यो साता नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकमलगायत कम्पनी अगाडि परेका छन् भने कारोबार भएको सेयर संख्याका आधारमा नेपाल टेलिकम, नबिल बैंक, आदि अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया