आइतबार, वैशाख ७, २०८२

गोकर्णेश्वरले अब ७५२ पालिकालाई विकासको डिजाइन देखाउँछ : उद्धव विष्ट

नेपालखोज २०७९ वैशाख २३ गते १९:२९

काठमाडौं । नेकपा एमालेबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको उम्मेद्‍वार बनेका उद्धव विष्टले कर्णाली भनिएको नगरलाई देशभर चिनाउने बताएका छन् । उनले नेपालखोजसँग कुरा गर्दै अन्य ७५२ वटा पालिकालाई विकास कसरी हुन्छ ? आफूले गरेर नमूना देखाइदिने बताए ।

उनले गलत नेतृत्वका कारण गोकर्णेश्वरलाई आज पनि कर्णाली भन्ने गरेकोमा दुखेसो गरे । उनले पाँच वर्षभित्र गोकर्णेश्वर कर्णाली हो कि ? के हो भनेर देशभरका पालिका प्रमुख र जनप्रतिनिधिलाई देखाइदिने बताए । उनले अन्य पालिकाले समेत गोकर्णेश्वरको विकासको ट्रेन्डलाई फ्लो गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले स्थानीय तहका जनप्रतिनिधिको पद राजनीतिक नहुने बताए । मेयरमा निर्वाचित भए जनताको नजिक बसेर काम गर्ने विष्टको दाबी छ । उनले भने, ‘यो पद भनेको राजनीतिक पद होइन । स्थानीय सरकार भनेको जनताको नजिकको सरकार हो । निर्वाचनभन्दा अघि त्यो पार्टीको एउटा उम्मेद वार हुन्छ । निर्वाचनपछि सबैको साझा पद हो त्यो । साझा पद भएकाले म निर्वाचित भइसकेपछि वार्षिक कार्यक्रमहरु गर्दा पनि सबै पार्टीलाई राखेर सबै जनतालाई राखेर आर्थिक पारर्शितामा जोड दिन्छु । कर लगाउदा पनि मलाई यति बजेट चाहियो, योजना यो भनेर जनतासँग सोध्छु । कारणसहित जनताको भावना अनुसार कर लगाउने हो । ना कि उनीहरुको चित्त दुखाएर ।’

उनले भ्रष्टचारमुक्त नगर बनाउने दाबी गरे । उनले भने, ‘गोकर्णेश्वरमा अहिले बेथिति छ त्यसलाई सुशासनमा कायम गर्ने र भ्रष्टचारमुक्त नगर बनाउने मेरो योजना छ । म आफू पनि भ्रष्टचार नगर्ने र अरु कसैले गरे/नगरेको निगरानी गर्ने काम गर्छु ।’

उनले पाँच वर्षमा नगरपालिकाको प्रशासनिक भवन बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नेपाली कांग्रेसको स्थानीय सरकार हुँदा भवनको जग पनि हाल्न सकेन । ठेक्कपट्टाका कारण गोकर्णेश्वर दुर्गन्धित भएको छ । फोहोरमैला व्यवस्थापनमा काम गर्छु । अफिस टाइम र स्कुल टाइमबाहेक बिहान र बेलुका फोहारमैला आँफैं उठाउनेछु । ठेक्कापट्टालाई रद्द गर्छु ।’

उनले फोहोरमैला व्यवस्थापनका लागि जापानबाट अनुदानमा ल्याएको आधुनिक मेसिन अर्कै नगरपालिकामा लगेर राखिएको समेत बताए । उनले भने, ‘मेयर साहेबले जापानबाट अनुदान ल्याएको भन्नुभयो । अहिले त्यो मेसिन हाम्रो नगरमा नै छैन । कागेश्वरीमा लगेर राखिएको छ । लामो समयसमम्म ल्याएर मेयर सन्तोष चालिसेले त्यतिकै थन्काउनुभयो । अहिले चुनावमा आर्थिक ऐनले अफ्ठयारो पर्ने भएर उहाँले त्यसको ठाउँ सार्नुभयो । गोकर्णेश्वरले ल्याएको मेसिन कागेश्वरी किन पुग्यो ? भनेर प्रश्न गरिरहेको छौं । राज्यको सम्पत्तिहरुमा गलत भइरहेको छ । विधिको शासन भएन । हामी विधिको लागि हिँडेका हौं । तर आफ्नै नगरको हालत यस्तो देखेर दु:ख लाग्छ ।’

उनले क्षमतावान् बालबालिकालाई नि:शुल्क शिक्षा दिनेसमेत बताए । उनले सामुदायिक विद्यालयमा धनीले विद्यार्थी नपठाउने बताए । उनले भने, ‘हाम्रा नाता नातिनाहरु छोरा छोरीहरु त्यो विद्यालयमा पढ्न जाँदैनन् पनि पठाउदैनन् पनि । धेरै पैसा छैन ल्वर क्लास हो भने पठाउछ । क्रमिकरुपमा सरकारी विद्यालयहरु गुणस्तरीय बनाउनुपर्छ । विद्यालयलाई गुणस्तरीय बनाइदिनु भने सबैले सरकारी विद्यालय नै पढाउछ ।’

स्वास्थ्यको क्षेत्रमा परिवर्तन गर्न पनि शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । उनले शिक्षा र स्वास्थ्यमा भएको राजनीतिलाई चिरेरमात्र अगाडि बढ्न सकिने बताए । उनले राजनीतिले महत्त्वपूर्ण क्षेत्रलाई गाँजेको कुरामा दु:ख व्यक्त गरे । उनले नेपाली युवा नेपालमा नबसे देश नबन्ने दाबी गरे । उनले रेमिट्यान्सलेमात्र देश नबन्ने बताए । उनले युवा स्वरोजगारका लागि काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले आफूले जनताको गुनासो सुन्न हेल्प डेस्क राख्नेसमेत बताए । उनले भने, ‘नगरपालिकामा जनताको गुनासो सुन्ने हेल्प डेस्क राख्छु । हटलाइन पनि राख्छु । झन्झटरहित नगरपालिका बनाउन चाहन्छु । र सकेसम्म प्रविधिमैत्री बनाउछु । पेपररहित नगरपालिका बनाउन म कोसिस गर्नेछु । त्यसलाई नयाँ ढंगले लिएर जाने मेरो योजना छ । गोकर्णेश्वरलाई एक घर-एक धारा बनाउछु । अहिले खानेपानीको समस्या छ । नगरपालिकाभित्र चाहिने सबै कुरा खानेपानी, सडक, शिक्षा, स्वास्थ्य सबै कुरामा आँफैं नेतृत्व लिएर काम गर्छु ।’

उनले सुन्दरीजल खानेपानीको मुहान भएर पनि आफूहरुले खानेपानी नपाउनू विडम्वना भएको बताए । उनले भने, ‘कानुनीरुपमा मेलम्चीका प्रतिनिधिसँग बसेर हामीले पाउने अधिकार माग्छौं । जनताको अधिकारका लागि हामी लड्छौं एक घर-एक धारा हाम्रो अभियानलाई सार्थक बनाउछौं । हावा आउने धारा होइन पानी आउने धाराको व्यवस्था मिलाउँछौं ।’

उनले नेतृव गर्ने मानिस सिस्टममा नबसेकाले र विकास निर्माणमा नलागेकाले काठमाडौंको कर्णाली आफ्नो नगर भएकोमा दु:ख लाग्ने गरेको बताए । उनले भने, ‘नेतृत्व गर्ने मान्छे राम्रो नभएर काठमाडौंभित्रको कर्णालीका जनता भनेर हामीलाईभन्दा दु:ख लाग्छ । स्थानीय तहको अधिकारभित्र पर्ने सडकहरुलाई धुलो र हिलोरहित बनाउनेछौं । प्रदेश र केन्द्रमा पर्ने सडकलाई पनि स्तरीय बनाउन १२ महिना नै पहल गरिरह्ने छौं । सडकको जिम्मा आँफैं लिएर अग्रसरता देखाएर काम गर्ने छु ।’

उनले केन्द्रलाई नै चुनौती दिनेगरी काम नगर्नेसमेत बताए । उनले तीनै तहको सरकारसँग समन्वय गरेर काम गर्ने बताए । उनले तारेभिरबाट पानी ल्याएर नगरबासीलाई खुवाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘मेलम्चीले छुटाएका जनतालाई घर-घरमा पानी पुर्‍याउने काम गर्छौं । मेलम्चीको श्रोतले पनि पुगेन भने अन्य श्रोतको खोजी गरेर पानी दिन्छौं । ढलको व्यवस्थापनका लागि साना साना पाइप हटाएर ठुला ठुला पाइप राख्छौं । बस्ती बढेकाले पाइप ठुलो बनाउनुपर्ने भयो । पचास वर्ष पाइप नछुनु पर्नेगरी ढल व्यवस्थापन गर्छौं । जनतालाई र राजनीतिक दललाई नै राखेर योजना बनाउने भएकाले मैले भनेका कुराहरु सपनामात्र होइन, म मेयर निर्वाचित भएको दिनबाट सपनाहरुले आकार लिन थाल्छन् । व्यक्तिगतरुपमा शासक नभएर सेवकरुपमा काम गर्नेर्छाैं । जनताको काम गर्न सबैसँग सल्लाह लिन्छु । व्यवस्था यत्रो लडाइ लडेर ल्याइयो । अब अवस्था परिवर्तन गर्न लागौं ।’

तरकारी उत्पादन गर्ने क्षेत्रका लागि सबै व्यवस्था वडाबाट गर्ने व्यवस्था मिलाउने उनले बताए । उनले भने, ‘हामी उत्पादनका लागि सबै कुराको व्यवस्था गर्छौं । र उत्पादन भएको कुरा सबै उत्पादन नहुने बजारहरुमा पुर्‍याउछौं । नगरपालिकाले सिधै किसानले ल्याएर बेच्न सक्ने स्टलहरु नि:शुल्क प्रदान गर्नेछ । किसानदेखि उपभोक्तासम्मको यात्रालाई सार्थकता दिन म पहल गर्छु । बिचौलीयालाई ठाउँ दिने छैन ।’

उनले आफूले भनेका योजनाहरु साधारण भएको र लागू गर्न सकिने दाबी गरे । उनले ठुला-ठुला सपनाहरु नदेखाएको समेत बताए । उनले चुनावका लागि आयोगले तोकेभन्दा एक रुपैयाँ बढी खर्च नगर्नेसमेत बताए । उनले भने, ‘मैले बोलेका कुराहरु भएन भने म सबैलाई अनुरोध गर्छु । दाग लागेर आरोप लागरे पुष्टि भए, भोलिपल्ट राजीनामा दिन्छु । गलत मान्छे आफ्ने भए पनि नछोड्ने प्रतिबद्धता गर्छु । उपभोक्ता समिति भेलाबाट चयन हुन्छ । हाम्रो हस्तक्षेप हुँदैन । मान्छेको चरित्रका कारण मान्छे प्रलोभनमा पर्छ । एउटा व्यक्तिका कारण समग्र पार्टी खराब भन्न मिल्नैन् ।’

उनले कुनै पनि सुविधा नलिनेसमेत बताए । उनले भने, ‘म आँफैं कुनै कुरामा भ्रष्टचार गर्दिन । गर्ने जोसुकै भए पनि छाड्दिन । अफिस टाइममा कहीँ जान्न जहिले नगपालिकामा नै बस्छु । हिजोअस्ती बिजोक देखेका थियौं । १० दिनसम्म मान्छे सिफारिसका लागि आएको नि देखियो । दिनैपिच्छे धाउने कामलाई रोक लगाउँछौं । १० बजेदेखि ५ बजेसम्म मलाईं कसैले उद्घाटनमा नबोलाउनु होला । म त्यतिखेर जनताको सेवामा अफिसमै हुनेछु ।’

गोकर्णेश्वरमा नेपाली बामपन्थी राजनीतिमा छुट्टै पहिचान बनाएका व्यक्ति हुन विष्ट । उनले राजनीतिक परिवर्तनले मात्र समाजको र जनताको परिवर्तनमा खुसियाली ल्याउन सकिन्छ भन्ने विचार सानै देखि बोकेका थिए । विष्ट वि सं २०४४ सालमा नेपाल ल क्याम्पसबाट नेकपा एमालेको तत्कालिन भातृ संगठन अनेरास्ववियू पाँचौंको सदस्यता लिएर आफ्नो जिवनको राजनीतिक यात्रामा अघि बढेका थिए ।

वि सं २०२६ साल वैशाख ४ गते काठमाडौंको तत्कालीन बालुवा गाविसको सुन्ताखानमा जन्मिएका विष्ट सानै उमेरदेखि वामपन्थी राजनीति प्रति चासो राख्ने र मन पराउने व्यक्ति हुन् । विष्ट गोकर्णेश्वर नगरपालिकामा एमालेको राजनीतिमा स्थापित नेता र चर्चित व्यक्ति हुन् । अनुभवी र प्रखर नेताका रुपमा चिनिएका बिष्ट सैद्धान्तिक बैचारिक एवं प्रखर बक्ताका रुपमासमेत चिनिएका लोकप्रिय र प्रभावशाली नेता हुन् ।

गोकर्णेश्वर नगरपालिकामा सर्वार्धिक रुचाइएका बौद्धिक, सरल र मिलनसार विष्ट प्रशासनिक क्षमतामा पनि अब्बल व्यक्तिमा पर्छन् । उनले वि सं २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट बालुवा गाविसको वडा अध्यक्षमा निर्वाचित भएर वडाको नेतृत्व गरिसकेका छन् । उनले गरेको नेतृत्वलाई आजसम्म सफल भनेर सम्झिने ध‍ेरै छन् । यस्ता विभिन्न कारणले पनि उनले एमालेमात्र नभएर कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी लगायतका पार्टीकाे समर्थन पाइरहेका छन् । उनलाई स्वतन्त्रमध्येका ९० प्रतिशत नगरबासीकाे साथ र समर्थन छ । उनी जित्नेनमा विश्वस्त छन् ।

प्रतिक्रिया