आइतबार, वैशाख ७, २०८२

केपी ओलीले जिते राजतन्त्र फर्किन्छ : देउवा

नेपालखोज २०७९ वैशाख २५ गते १४:५६

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई पुग्ने बताएका छन् । गठबन्धन दलले पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले संविधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाइदा भएको र कांग्रेसलाई धेरै फाइदा भएको दाबी गरे ।

देउवाले केपी ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किने र संसद भंग गरिदिने भन्दै गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेकोसमेत बताए । प्रधानमन्त्री देउवाले ओली स्वयं र नेकपा एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए । उनले भने, ‘ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ । म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन ? अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन ?’

गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए । देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेद्‍वार कांग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको उम्मेद्‍वारले जित्दा कांग्रेस र देशको जित हुने उनको दाबी थियो ।

प्रतिक्रिया