आज र भोलि नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान शिक्षा दिँदै आयोग

काठमाडाैं । स्थानीय तह निर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले आज र भोलि मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ ।
त्यस्तै, निर्वाचन आयोगले नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँड्ने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको हो ।
निर्वाचन आयोगले गत फागुन ५–२० गतेसम्म परिचयपत्र नष्ट भएको वा हराएको भए वडा कार्यालयको सिफारिसमा प्रदेश वा जिल्ला निर्वाचन कार्यलयमा निवेदन दिन मतदातालाई आग्रह गरेको थियो । आयोगले दिएको समयमा निवेदन दिएका त्यस्ता मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपि पाउने छन् ।
प्रतिक्रिया