पालिका चुनाव : मतदाता शिक्षा र परिचयपत्र वितरण सुरु

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।
आज र भोलि आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ । मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए ।
उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए । मतदान अधिकृत उप्रेतीले मतदाताहरुले नमूना मतपत्रमा मत हाल्न सिकएको बताए ।
त्यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताए । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरे ।
त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिन्छन् । यस वर्ष नयाँ मतपत्रहरु छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको अधिवक्ता भूमिनन्द चुँडालले बताए । उनले यस वर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेको कारण धेरै मतहरु बदर हुनसक्ने सम्भावना रहेको बताए । नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनु पर्नेमा उनको जोड छ ।
नव मतदाताहरु आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहीत देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरुले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।
प्रतिक्रिया