सुरक्षा व्यवस्था कडा, मधेस प्रदेशमा सुरक्षा थ्रेट

काठमाडौं । सरकारले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने, भारत र चीनसँग जोडिएका सीमानाका बन्द गरिएका छन् ।
विशेष गरि मधेस प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ । मधेस प्रदेशमा भयरहीत मतदान गराउन सीमानाका बन्द गरिएको छ । देशभरिका मतदान केन्द्रहरूमध्ये मधेस प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ। सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।
प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशीलरूपमा वर्गीकरण गरिएको छ । जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको छ ।
देशभरका सबै मतदान केन्द्रहरुमा म्यादी प्रहरीसमेत गरी १ लाख ६५ हजार भन्दा बढी फौज परिचालन भइसकेको छ । निर्वाचनलाई भयरहीत बनाउन मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरुको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षाका सम्पूर्ण जिम्मेवारीका लागि पनि सुरक्षा निकायलाई तयार रहन आयोगले आग्रह गरेको छ ।
प्रतिक्रिया