६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

काठमाडौं । निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले आज साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्वाच्न आयोग नेपालका प्रमुख निर्वाच्न आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए । उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौंमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताए ।
उनले अहिलेसम्मको तथ्यांकअनुसार १८ वटा मतदान स्थलमा मतदान स्थगन भएको र एकैचरणमा निर्वाचन गर्नुपरेको कारण चाहेजति सुरक्षा नभएको हो कि भन्ने भान भएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरुको व्यवस्थाको बारेमा चिन्तित र संशंकीत भएको बताए ।
प्रतिक्रिया