आइतबार, वैशाख ७, २०८२

उदयपुरको सोरङछबिसेमा गोली चल्यो : एक जनाको मृत्यु, एक घाइते

नेपालखोज २०७९ वैशाख ३० गते २१:२०

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा गोली चल्दा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेकाे थियाे ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो । दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको थियो । कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको छ भने, अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको बताए । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ । घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अन्यत्र लैजाने तयारीसमेत भइरहेको प्रजिअ यादवले बताए ।

घटनाका बारेमा अझै सबै कुरा आइनसकेका कारण आफूहरुले पनि अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताए। घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको पनि प्रजिअ यादवले बताए ।

प्रतिक्रिया