घर छनोट

गाजा बाजाको तालमा बुर्लुक्क उफ्रँदै एकहुल मान्छेहरु आए , गाडीमा राखिएको माइकले झ्याउरे गीत (शव्दहरु नबुझे पनि अनुमान गर्दा गीत नै हुनुपर्छ) घन्काई रहेको थियो । हाम्रो घरको आँगन अगाडि आइपुगेपछि पाँच सात जना होलीमा रङ्गिएका जस्तै लाग्ने मान्छेहरुले घरतिर हेर्दै सेता दाँत देखाउँदै हात हल्लाए । यसै बिच मेरो सात वर्षिय नातीले मलाई भन्यो , ‘हजुरबा तपाईं पनि होली खेल्न जाने हो ?’
नातीले भने जस्तै, यो एक प्रकारको होली नै हो त ? कि मनोरञ्जनका लागि हिँडेका केही सौखिन घरानिया हरुको रमिते जुलुस ? बुझ्दा थाहा भयो तिनीहरू भोट माग्दै आएका केही दल विशेषका उमेद्वार हरु थिए । त्यहाँ उभिउन्जेल उनिहरुको हात मेसिन जस्तै नमस्तेको मुद्रामा थियो । उनिहरु अबिर दलिएको गालाको मध्यभागबाट सेता दाँत देखाउँदै अगाडि बढे । उनीहरुले थाहा नपाउने गरि म पनि भिडमा मिसिएँ । एकजनाले भन्दै थियो ‘घरमुली सँग कुरा गर्नु पर्ने , यसका घरमा पाँच भोट पो छ त ।’
त्यसमध्येको अगुवा जस्तोले भन्यो- ‘जति लम्बे चौडा कुरा गरे पनि काम छैन , यो घरको भोट हामीलाई आउँदैन ।’ अब उनिहरुले नमस्ते गर्ने पालो मेरो छिमेकी घरमा थियो ।
त्यस घरमा उनिहरुले बाटो बाटै नमस्कार गरेर अघि बढे । पुन : दोस्रो उमेद्वारले भन्यो- ‘यो घरको भोट त हामी लाई आउँछ होइन र ?’ अगुवा उमेद्वारले भन्यो ” त्यसैले त यस घरमा कुरा गर्नु पर्दैन । ‘धेरै बेर बसे पनि एकै छिन बसे पनि यो घरको भोट हामीलाई नै आउने हो ।’
अब मलाइ कुरा बुझ्न मुस्किल पर्यो । भोट नलाउला जस्तो लागे पनि कुरा गर्नु नपर्ने , आउने ठाउँमा यसै कुरा गर्नु परेन । यिनीहरुले कस्तो घरको छनौट गरेर भोट माग्न हिँडेका हुन् कुन्नि ?
प्रतिक्रिया