सोमबार, वैशाख ८, २०८२

कामपा-५ मा एमालेका प्रजापति विजयी

नेपालखोज २०७९ जेठ ४ गते ९:५४

काठमाडाैं । काठमाडौं महानगरपालिका-५ मा नेकपा एमालेको तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएकाे छ । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डंगाेललाई २५३ मतले पछि पार्दै विजयी भएकाे हाे । प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाएका थिए ।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भए । महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएकाे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा केशव स्थापितले छ हजार ७९० मत प्राप्त गरे । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकाे बालेन्द्र शाहले नेकपा एमालेको तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई पछि पारिरहेका छन् । कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले छ हजार १२९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डंगाेलले १३ हजार ९८ मतले अग्रस्थानमा रहेका छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले चार हजार ७४ मत प्राप्त गरे । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएकाे छ । कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

प्रतिक्रिया