वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेद्वार विजयी भएका छन् ।
नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । ढकालले गठबन्धनका तर्फबाट कांगे्रसका उम्मेद्वार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेका हुन् ।
ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गरे । कुल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व कांग्रेसले पाएको छ ।
विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका थिए । यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो मत ल्याएको छ ।
उक्त पार्टीका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले १० हजार छ र उपप्रमुख पदका उम्मेदवार लक्ष्मीकुमारी सार्कीले तीन हजार ६९७ मत प्राप्त गरे । सुर्खेतका नौमध्ये अब सिम्ता गाउँपालिकाको मात्र निर्वाचन परिणाम आउन बाँकी छ । त्यहाँ एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिक्रिया