सिकेर आउनू !
अर्जुन पराजुली
२०७९ जेठ २० गते १३:२७

हात नहाली लोकलाई रुवाउने कसरी ? सिकेर आउनू
फोहोरमा हालेर सहर कुहाउने कसरी ? सिकेर आउनू
आफूले खान जानेर मात्रै पुग्दैन महोदय राजनीतिमा
खोसेर आफन्तलाई खुवाउने कसरी ? सिकेर आउनू
खानेकुरो देखेपछि देखिने गरी नै चुहिन्छ र्याल पनि,
नदेखिनेगरी र्याल चुहाउने कसरी ? सिकेर आउनू
बनाएरै उद्घाटन त जसले पनि गर्छ अरे दुनियाँमा
नबनाएरै उद्घाटन गरी आउने कसरी ? सिकेर आउनू
पानीमा जहाज त जोसुकैले चलाउँछ सिकेपछि
पाखोमा पानीजहाज चलाउने कसरी ? सिकेर आउनू
बजेट निकासा भएको छ रुख रोप्न सिमन्टीको
चौतारोको पीपल ढलाउने कसरी ? सिकेर आउनू
नजितेकै जसरी हल्लाउनु थियो भने जितेको किन ?!
चुनाव जितेपछिको जीउ हल्लाउने कसरी ? सिकेर आउनू !!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया