बुधबार, वैशाख १०, २०८२

अर्थमन्त्री शर्मा भन्छन्- पुँजी बजार विकासमा मन्त्रालयको पूर्ण साथ छ

पुँजी बजारको समस्या समाधन गर्न ४ सदस्यीय समिति गठन, बुढाथोकीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान ।

नेपालखोज २०७९ जेठ २५ गते १४:२८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको विकासमा आफू र अर्थ मन्त्रालयको पूर्ण साथ रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको पनि बताएका छन् । अर्थमन्त्री शर्माका अनुसार समितिमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित चार सदस्य छन् । समितिबाट प्राप्त सुझावकै आधारमा आगामी दिनमा अर्थ मन्त्रालय अघि बढ्ने पनि शर्माले बताए ।

बोर्डमा नयाँ नेतृत्व आएपछि पुँजी बजारको विकासमा अगाडि बढेको बताउँदै त्यसमा अर्थ मन्त्रालयको साथ रहेको शर्माको भनाइ छ । उनले नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना बनाउने दिशामा अगाडि बढ्न निर्देशन दिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए ।

लगानीकर्ताको हित संरक्षणका लागि नियामकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री शर्माले स्वचालित कारोबार प्रणालीलाई अझै विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताए । मौद्रिक नीतिमा ४-१२ करोडको क्यापलगायत विषयमा यथोचित सम्बोधन गर्नुपर्छ भन्नेमा आफू रहेको बताउँदै उनले ब्रोकरमार्फत मार्जिन लेन्डिङका लागि आवश्यक कार्य चाँडै गर्न निर्देशन पनि दिए ।

कार्यक्रममा आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । अर्थमन्त्री शर्माले बुढाथोकीलाई ५० लाखको चेक, प्रमाणपत्र हस्तान्तरण गरी सम्मान गरेका थिए । बुढाथोकी टक्सार म्यागेजिनका प्रधान सम्पादकसमेत हुन् ।

प्रतिक्रिया