बुधबार, वैशाख १०, २०८२

साताभर नेप्सेमा पहिरो, पाँचमध्ये एक दिन मात्र नेप्से बढ्दा ६ अर्ब ५९ करोडको कारोबार

नेपालखोज २०७९ जेठ २८ गते ११:३८

काठमाडौं । नेप्सेमा यो साता लगातार पहिरो गएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै घट्न थालेको नेप्सेले साताको अन्तिम कारोबार दिनसम्म पनि निरन्तरता पाएको थियो ।

नेप्से लगातार घट्दै आएका कारण यो साता सेयर लगानीकर्ताको विभिन्न छाता संगठनहरूले प्रधानमन्त्री, अर्थमन्त्री समेतलाई ज्ञापनपत्र बुझाउँदै सेयर बजार सुधारका लागि तत्काल उचित कदम चाल्न अनुरोध गरे । पुँजी बजार सुधारको माग गर्दै विभिन्न सभा, जुलुस तथा र्याली गरे । तर यसको प्रभाव नेप्सेमा अलिकति पनि देखिएन् । जसअनुसार नेप्से २ हजार ४८ दशमलव १६ अंकमा खुम्चिएन पुग्यो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सातामा ३ सय ९२ दशमलव २५ अंकमा खुम्चिन पुग्यो ।

नेप्सेमा यो साता जम्मा २ सय ३१ कम्पनीको सेयर किनबेच भएका छन् । जसअनुसार एक लाख ३४ हजार नौ सय ३० पटकको कारोबारमा २ करोड ५ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर खरिद-बिक्री भएको छ ।

सोही आधारमा यो साता कुल कारोबार रकम ६ अर्ब ५९ करोड ३३ लाख ६३ हजार १ सय २६ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा केही करोड रुपैयाँले मात्र बढी हो । गत साता भने नेप्सेमा २ सय २९ वटा कम्पनीको १ लाख २६ हजार १ सय २८ पटक कारोबार भएको थियो । जसअनुसार १ करोड ७६ लाख ६१ हजार ७ सय ३५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २० करोड ३९ लाख १३ हजार २ सय ६४ रुपैयाँ पुगेको थियो ।

नियमित कारोबारका लागि यो साता नेप्से पाँच दिन खुला रहे पनि तेस्रो दिन (एक दिन) मात्र नेप्से बढेको थियो । बाँकी दिनमा नेप्से सूचकसँगै कारोबार रकम पनि उच्च अंकले घटेको थियो । सोअनुसार पहिलो दिन १२ दशमलव ८९ अंकले घटेर दुई हजार ६५ दशमलव ८२ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि १४ दशमलव ६४ अंकले घटेर दुई हजार ४८ दशमलव १६ अंकमा झरेको थियो ।

यसबीच तेस्रो दिनबाहेक बाँकी दिनमा नेप्से लगातार घटेको थियो । यसैगरी पहिलो दिन तीन दशमलव १२ अंंकले घटेर चार सय दशमलव ३६ अंकमा घटेको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन चार दशमलव ११ अंंकले घटेर तीन सय ९२ दशमलव २५ अंकमा पुगेको थियो । यसबाहेक तेस्रो दिनमा सेन्सिटिभ इन्डेक्स बढे पनि बाँकी दिनहरूमा भने घटेको थियो ।

नेपाल टेलिकम, नबिल, बैंक आदिको यो साता बढी रकम कारोबार भएका छन् । नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया