बुधबार, वैशाख १०, २०८२

सेयरको कारोबारदिन बढ्यो, शुक्रबार दुई घण्टा मात्र !

नेपालखोज २०७९ जेठ ३० गते १८:४१

काठमाडौं । अब सेयर कारोबार साताको ६ दिन चल्ने भएको छ । यसअघि पाँच दिन मात्र चल्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) असार १ अर्थात् पर्सिदेखि साताको ६ दिन चल्ने भएको हो ।

यसअघि दुई दिन सार्वजनिक विदाका कारण प्रभावित हुँदै आएको सेयर कारोबारको दिन फेरि परिवर्तन भएको हो । लगानीकर्ताको सुझावअनुसारनेप्सेले सातामा ६ दिन सेयर कारोबार गर्ने निर्णय गरेको जनाइएको छ ।

सञ्चालक समितिको सोमबार बसेको बैठकले अबदेखि सातामा ६ दिन नै सेयर कारोबार गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेपाल खोजलाई बताए । असार १ गते बुधबारबाट सातामा ६ दिन कारोबार हुने र शुक्रवार भने दिउँसो १ बजेसम्म मात्रै कारोबार हुने पराजुलीले जनाएका छन् ।

शुक्रवार सेयर कारोबार गर्ने या नगर्ने भन्ने विषयमा सरोकारवाला र लगानीकर्तासँग बसेर छलफल हुँदा ६ दिन नै कारोबार गर्न/गराउन सरोकाला सवै राजी भएका थिए । सरकारले सातामा दुई दिन विदा दिने चलन ल्याएपछि शुक्रबार पनि पूर्णरुपमा सेयर कारोबार सुरु भएको थियो ।

असार १ गतेदेखि फेरि नेप्सेले सेयर कारोबार गर्ने दिनमा परिवर्तन गरेको हो । शुक्रवार आधा दिन बिदा दिने नियम कायमै भएकाले सोही नियमअनुसार नेप्सेले पनि आफ्नो सेवा आधा दिन मात्रै दिने निर्णय गरेको जनाइएको छ । दुई दिन सार्वजनिक विदा दिने नियम ल्याउनुअघि शुक्रबार र शनिबार सेयर कारोबार हुने गरेको थियो ।

शुक्रबार आधा दिन काम गर्ने अवस्था भएपछि नेप्सेको कर्मचारी व्यवसथापनसम्बन्धी केही नियम परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । तर केही घण्टा काम गरेको पारिश्रमिक दिन/नदिने विषयमा भने सहमति जुट्न सकेको छैन ।
अन्ततः कर्मचारी मर्कामा नपर्ने गरी नेप्सेले शुक्रवारको हकमा बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म कारोबार खोल्ने निर्णय गरेको छ ।

नेपाल स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताको चाहाना सातामा ६ दिन नै सेयर कारोबार हुनु पर्ने माग छ । बजारको माग अनुसार सेयर कारोबारलाई ६ दिन निरन्तर गर्ने निर्णय गरिएको प्रवक्ता पराजुलीको दाबी छ ।

प्रतिक्रिया