बुधबार, वैशाख १०, २०८२

के समानता सम्भव छ ?

मातृका अर्याल २०७९ साउन ८ गते १२:५५

मानिसलाई मानिसले विभिन्न प्रकारमा वर्गीकरण गर्ने गरेको पाइन्छ । मानिसका नजरमा अनगिन्ति छन् मानिसका प्रकारहरू, कोही लाटो छ त कोही बाठो छ । कोही शक्तिशाली छ त कोही शक्तिहीन छ । कोही पहुँचवाला छ त कसैको पहुँचै छैन । कोही पिलन्धरे दुब्लो छ त कोही मोटोघाटो खाइलाग्दो छ । कोही यमानको अग्लो छ त कोही होचो छ । कोही अंगारे कालो छ त कोही कुहिरे गोरो छ । कोही सर्लक्क परेको छ त कोही कताकता के-के नमिलेको जस्तो छ । कोही मिलनसार छ त कोही एकलकाँटे छ । कोही क्षमतावान् छ त कोही क्षमताहीन छ । कोही तार्किक छ त कसैसँग कुनै तर्क नै छैन । कसैले काम गर्छ त कसैले सिर्फ गफ गर्छ । कोही अरूको भलो गर्छ त कोही अरूको कुभलो मात्रै गर्छ । कोही पढेलेखेको छ त कसैले केही पढेकै छैन । कोही पढे लेखेर पनि आफूलाई सरल रूपमा प्रस्तुत गर्छ त कोही पढे लेखेको नभए पनि आफूलाई निकै जान्नेसुन्ने भलाद्मी (बोक्रे ?) का रूपमा दाबी गर्छ ।

कसैले अरूले भनेको, सुनेको, देखेको, गरेको कुरालाई आधार मानेर आफ्नो धारणा, विचार र दृष्टिकोण निर्धारण गर्छन् त कसैले आफैंले गरेर, आफैंले पढेर, आफैंले देखेर, आफैले सुनेर कुनै पनि वस्तु वा विषय सन्दर्भप्रति आफ्नो प्रस्ट विचार, धारणा र दृष्टिकोण बनाउने गर्दछ । जसमध्ये मलाई यी कुनै पनि प्रकार, प्रकार होजस्तो लाग्दैन । मलाई आफूले देखेको, भोगेको तथा अनुभव गरेका आधारमा मानिसहरू दुई प्रकारका हुन्छन् जस्तो लाग्छ ती हुन् एक कर्मशील मान्छे र अर्को कामचोर ।

साधारणतः संसारको प्राकृतिक जीवनचक्र धान्न सृष्टिले प्राकृतिक रूपमै हरेक चिजलाई दुई अलग संरचना तथा स्वभावमा निर्माण गरेको छ । पानीलाई बहने र स्थिर रूपमा, जमिनलाई उबडखाबड र समतलका रूपमा, हावालाई हुरी र मन्दपवनका रूपमा । अनि जीवजन्तु तथा मानिसलाई पुलिङ्गी र स्त्रीलिङ्गीका रुपमा, स्त्री र पुरुषका रूपमा ! तर स्त्री स्त्री र पुरुष पुरुषकै बीचमा पनि तिनीहरू माथि उल्लेख गरिएजस्तै दुई फरक प्रकार अथवा स्वभावका हुन्छन् ।

सामान्य नजरले हेर्दा मानिस अर्थात मान्छेको प्रकार एउटै देखिन्छ । त्यो हो दिमाग भएको तथा सोच्न सक्ने क्षमता भएको प्राणी । जसका दुई हात, दुई खुट्टा, दुई कान, नाक, मुख, आँखा, छाला, जिब्रोलगायत ज्ञानेन्द्रियहरू रहेका हुन्छन् । अहिलेको वर्तमान आर्थिक, सामाजिक र राजनीतिक अवस्था प्रतिस्पर्धात्मक, गतिशील, जटिल छ । विश्वव्यापी सूचना प्रविधि, विश्वव्यापी श्रमको गतिशीलता, विश्वव्यापी पुँजीको परिचालनशीलताका कारणले अहिले मानिसलाई विभिन्न प्रकारमा वर्गीकरण गरियो भने तिनीहरूमध्ये अधिकांश असफल मानिसका रूपमा समाजमा छरपस्ट भएको देखिनेछ, एकदमै न्यून प्रतिशतमा मात्र सफल मानिस पाउन सकिन्छ यहाँ ।

अहिले विश्वव्यापी रूपमा समानताको वकालत चलिरहेको अवस्थामा विभिन्न देशका महिलाले आफूलाई पुरुषसँग समान बनाउन अथवा देखाउन विभिन्न प्रयास गरिरहेको पाइन्छ । पढ्ने, लेख्ने, सोच्ने, क्षमता विकास गर्ने, तालिम लिनेलगायत विभिन्न अवसर प्राप्त गर्ने, आरक्षण प्राप्त गर्ने, समान कार्यका लागि समान पारिश्रमिक लिने आदि । यसबाट संसारको विकासक्रमका सुरुवाती अवस्थामा धेरैपछि परेका महिलाहरू पनि आफूलाई परिष्कृत गरेर कतिपय अवस्थामा पुरुषहरूका दाँजोमा हाराहारी वा त्योभन्दा माथिल्लो स्थितिमा समेत पुगेको पाइन्छ । अझै पनि केही महिला घरमा पुरुषको आश्रय वा आम्दानीमा रमाउन खोज्ने खालका हुन्छन् भने केही पुरुषहरू अब आधुनिक समयमा महिला वा श्रीमतीको पनि कमाइ खान हुन्छ भन्ने सोचाइ राखेर आफू डुकुलन्ठू भई श्रीमतीको कमाइ खाँदै बकम्पूmसे गफ गर्दै समय व्यतित गर्छन् । आफ्नो ऊर्जाशील समय खेर फाल्ने गर्छन् ।

हामी नेपालमा छौं, जुन देशमा स्रोत-साधनको प्रचुरता छ । स्रोत-साधनको उपलब्धताका आधारमा संसारमै धनी छ नेपाल तर त्यसको प्रयोगका आधारमा अत्यन्तै गरिब राष्ट्र हो यो । हामी नेपाली आफ्नो एकदमै नजिक रहेको साधन र स्रोतको प्रयोग नगरी अथवा प्रयोग गर्न नजानेर विभिन्न देशहरूले बडो मिहिनेतसाथ उत्पादन गरेका वस्तु प्रयोग गर्ने गर्छौँ । विश्वका अन्य विकसित देशहरू साधन र स्रोत धेरै भएर विकसित भएका होइनन् ती देश त्यहाँ उपलब्ध सीमित साधन र स्रोतको प्रभावकारी उपयोग गरेर विकसित भएका हुन् । देश विकसित हुन जनता जान्ने, बुझ्ने, काम गर्ने, ऊर्जाशील, फुर्तिला, सकारात्मक धारणा भएका हुनुपर्छ ।

हाम्रो देश भौगोलिक विकटताले भरिएको देश हो यहाँ भौगोलिक विकास गर्न धेरै गाह्रो छ, धेरै मिहिनेत गर्नुपर्छ तर प्रकृतिले फालिदिए फलिदिने प्रकारको उर्वरभूमि प्रदान गरिदिएको हुनाले मानिसलाई जीवन जिउन गाह्रो छैन । बाँच्न अर्थात् जिउन गाह्रो नभएकाले यहाँका मानिसहरू प्रायः अल्छी छन्, खाली खुला चोक वा अरूले सिर्जना गरिदिएको सामाजिक सन्जाल तथा इन्टरनेटको दुरुपयोग गरी वाहियात गफ गर्नमै मजा मानिरहेका हुन्छन् । अरूको कुरा काट्नमा समय व्यतित गर्दा समयको भरपूर सदुपयोग भएको ठान्छन् ।

यहाँका केही नागरिक दैनिक आफ्ना कर्तव्य पूरा गर्छन् । सामाजिक, सांस्कृतिक, राजनीतिक परिवर्तनका लागि प्रयासरत छन् भने केही नागरिक प्रायः आफूले गर्नुपर्ने कामबाहेक अन्य सबैजनाको कामबारे विचार, विमर्श, संश्लेषण, विश्लेषण गर्न सक्छन् । यसले यसो गर्नुपर्ने, उसले उसो गर्नुपर्ने, यहाँ यसले यो मिलाएन, त्यहाँ त्यसले त्यो बिगार्यो, बर्बाद पार्यो, देश, समाज, गाउँ टोल खत्तम बनायो यार ! भनेर वर्षौं बिताइदिन सक्छन् । यहाँ कतिपय अवस्थामा काम गर्नेले काम नगर्नेसँग लाज मान्नुपर्ने अवस्था छ । किनकि कामचोर प्रवृत्ति भएकाहरूले कर्मशील व्यक्तिहरूलाई खुब काम गरैया भएको छ भनेर उडाइदिन्छन् । हुँदैन, सक्दैन, मिल्दैन, बिग्रन्छ, खत्तम हुन्छ, ह्या यस्तो पनि के गर्न लागेको होला भनेर सकेसम्म निरुत्साहित गर्न खोज्छन् । कामचोरहरू दिमागको त्यति खासै प्रयोग नै गर्दैनन् । किनकि दिमागको प्रयोग नगरीकन पनि उनीहरूलाई बाँच्न सम्भव छ यहाँ । घरमा एउटाले कमाइ हुने पेसा गर्यो भने पूरा चार-पाँचजनाको परिवार सजिलै पाल्न सकिन्छ ।

यस्तो अवस्थामा दुई प्रकारका मानिसमध्ये एक प्रकारको मानिस जसले केही जिम्मेवारीसाथ आफ्नो शारीरिक तथा मानसिक परिश्रम प्रयोग गरेर केही हदसम्म भए पनि आफ्नो क्षमता अभिवृद्धि गरिरहेको पाइन्छ । तुलनात्मक रूपमा अझै पनि नेपालमा महिलाको तुलनामा बढी मात्रामा पुरुषहरूले आफूलाई गतिशील बनाएको देखिन्छ । सोचाइ जस्तोसुकै होस्, पारिवारिक अवस्था अर्थात् घरभित्र जस्तोसुकै वातावरण होस् बाहिरको समाजको नजरमा समान देखिने, अझ अरूभन्दा उत्कृष्ट देखिने प्रयास विभिन्न समयमा विभिन्न तरिकाबाट गर्दै आएको पाइन्छ ।

नामका हिसाबले र दामका हिसाबले कर्मशील र कामचोर समान हुनसक्ने भए पनि कामका हिसाबले यिनीहरू समान हुन सक्दैनन् । यिनीहरूबीच समानता त्यतिबेला सम्भव हुन्छ जतिबेला उनीहरूमा शारीरिक, मानसिक, संवेगात्मक र जैविक समानता हुन्छ । वंशाणुगत गुणको समेत प्रभाव रहने भएकाले प्रकृतिअनुसारै पनि यिनीहरू समानतामा पुग्न कदापि समर्थ हुने छैनन् र त्यस्तो विषमताले वर्तमान सुविधा-सम्पन्न समय र भविष्यमा पनि समानता हुने छैन सायद । जतिबेला कर्मशील र कामचोरमा सम्पूर्ण रूपमा समानता हुनेछ त्यस समयमा पृथ्वी र प्राणीको अस्तित्वसमेत समाप्त भइसकेको हुनेछ ।

वालिङ १, त्रियासी, स्याङ्जा

प्रतिक्रिया