बुधबार, वैशाख १०, २०८२

‘साँपले कुल्चियो भने मात्र डस्छ, मान्छेले त बारम्बार डसिरहेका हुन्छन्’

सुनील सापकोटा २०७९ साउन १७ गते १५:०९

आज नाग पञ्चमी । हिन्दूको पर्व । सर्प, साँप वा नाग जे भने पनि यसको सम्बन्ध हामी मनुष्य जातिसँग बडो विचित्रको छ । साँप हाम्रो शत्रु होइन । यसले विनाकारण डस्दैन । यसको नजिक गइयो भने अथवा यसलाई कुल्चियो भने मात्र यसले मनिसदेखि डराएर आफ्नो प्रतिरक्षा गर्न टोक्छ ।

साँपले डसेर मर्ने मानिसहरुको संख्याभन्दा साधारण रुघाखोकीले मृत्यु हुनेको संख्या यो दुनियाँमा बढी छ । नब्बे प्रतिशत साँप विषालु हुँदैन । भारत वर्षमा प्राचीनकालदेखि नै हिन्दूहरु प्रकृति पूजक भएकाले हो या साँपको फाइदा बुझेर होला वर्षमा एकपल्ट नाग पञ्चमीका दिन यसको पर्व मनाउने चलन छ । भनिन्छ कि यसले वातावरणमा भएको विषालु हावालाई ग्रहण गर्छ र वातावरण सफा पार्नमा सहयोग पुर्याउँछ । अनि किसानको खेतको मुसाहरुबाट रक्षा पनि गर्छ ।

एक अनुसन्धानअनुसार साँपले मानिसलाई डस्दा यसको विष चढेर मर्नेभन्दा आत्तिएर, डराएर हृदयाघात भएर भएर मृत्यु हुनेको संख्या धेरै रहेछ ।

वैज्ञानिकका अनुसार साँपले दूध खाँदैन । उसले कान सुन्दैन । बिन बजाउँदा सुन्दैन । बिन हल्लाउँदा साँप त्यसको गति हेरेर हल्लिएको हो । सर्पदंशको एकमात्र उपचार एन्टिभेनम हो । धामी, तन्त्रमन्त्र गर्दा साँपको विष झार्न सकिँदैन । उसको मणि हुँदैन । साँप इच्छाधारी पनि हुँदैन । यी सबै चलचित्रका वाहियात कुरा हुन् ।

कतै सुनेको थिए साँपको पनि गोत्र हुन्छ भनेर । साँपको जुन जुन गोत्रहरु हुन्छन् ती सबै गोत्रहरु हिन्दूहरुको पनि गोत्रहरु हुन् । त्यसैले हिन्दू धर्मशास्त्रमा सर्पलाई नमार्नु भनिएको छ । भगवान् शिवको गलादेखि लिएर भगवान् विष्णुको शय्यासम्म हामीले सर्पलाई स्थान दिएका छौं ।

पहिले मलाई साँपदेखि खुब डर लाग्थ्यो । साथीहरुले मलाई जिस्क्याउँथे पनि, कति साँपदेखि त्रसित भएको भनेर । तर अचेल मलाई साँपभन्दा बढी मान्छेहरुसँग डर लाग्न थालेको छ । साँपले त उसलाई कुल्चियो भने मात्र डस्छ, तर मान्छेले त आफ्नो स्वार्थ सिद्धि र ईर्ष्या प्रतिशोधका लागि बारम्बार अरुलाई डसिरहेका हुन्छन् ।

अचेल हाम्रा युवापुस्ताहरुले नाग पञ्चमीका दिन घरमा नागहरुको पोस्टर टाँसेको देखेर मन मनै हाँस्दा पनि हुन । तर ‘इकोलोजिकल ब्यालेन्स’ का लागि हाम्रा हिन्दू पूर्वजले हामी लाई साँपको मनुष्य जीवनमा कति महत्त्व रहेको छ भन्ने एउटा सन्देश पर्वका रुपमा दिएको हो । अन्त्यमा, नाग पञ्चमीको सबैमा शुभकामना…।

प्रतिक्रिया