कुलो बगेपछि ३५० परिवार बिजुलीबिहीन

बागलुङ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका ७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका ३५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।
एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका ७ का ३५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरुको दैनिकी कष्टकर भएको छ । ‘बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ,’ ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।’ चाडपर्वका बेला देश-विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उनले गुनासो गरे ।
ढोरपाटन नगरपालिकाको वडा ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए ।‘ भत्के-बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो,’ नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, ‘चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने ?’ कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताए ।
भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उनले बताए ।
‘पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योजना छ,’ कायतले भने, ‘अस्थायीरूपमा पानी चलाउन पनि १० लाख रुपैयाँभन्दा बढी खर्च हुने अवस्था छ ।’ तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो । -रासस
प्रतिक्रिया