लालबहादुर विश्वकर्माको आपत्ति

म लालबहादुर विश्वकर्मा हुँ
दलित हुइँन
न हुँ म पानी नचल्ने जात
इश्वरले श्रृष्टि गरेका हुन् भने
म यो सुन्दर संसारको तपाईँजस्तै
सुन्दर रचना हुँ — म मान्छे हुँ
प्रकृतिको अनुपम उपहार भन्नुहुन्छ भने
म प्रकृतिकै उपहार हुँ
म मान्छे हुँ तपाईँजस्तै
यो सुन्दर श्रृष्टिको ।
कसले बिगार्यो यहाँ उस्तै सबै एक मान्छेलाई
झन् म इश्वरकै मुर्ति बनाउने कलाकारलाई
को प्रवेश निषेध गर्दै आइरहेछ मैलाई
घरमा, मन्दिरमा, कोठा–चोटामा
म लालबहादुर विश्वकर्मालाई ?
म लालबहादुर विश्वकर्मा हुँ,
आपत्ति छ मेरो
मलाई ‘दलित’ नभनियोस्
मलाई मेरो नामले संबोधन गरियोस्
विश्वकर्मा भनियोस्,
बरु भनियोस् कामी ।१
हो, म काम गर्ने कामी हुँ
मलाई गर्व छ मेरो जात ‘कामी’ हुनुमा
थर विश्वकर्मा हुनुमा
तर सक्दिन म सुन्न — ‘दलित’
उफ् १ रोक्नुहोस्, बन्द गर्नुहोस् यो बोली
मलाई दुख्छ यो दलित।।।।
म लालबहादुर विश्वकर्मा हुँ
दलित हुइँन
न हुँ म पानी नचल्ने जात
इश्वरले श्रृष्टि गरेको यो सुन्दर फूलबारीमा
म पनि हुँ एक सुन्दर फूल — मान्छे,
तपाईँजस्तै एक मान्छे।।।।१
प्रतिक्रिया