अब नेपालमा पनि डिजिटल मुद्रा

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वव्यापीकरणले सम्पूर्ण विश्व नै एउटा बजारका रूपमा स्थापित हुँदै गएकाले सीमापार कारोबार, दोहोरो कर प्रणाली, ई–कमर्सजस्ता गतिविधिले स्थान बनाएको बताएका छन् ।
कारोबार प्रणालीमा भइरहेको रूपान्तरणले नयाँ किसिमको बैङ्किङ प्रणाली विकास गरिरहेको उनको भनाइ थियो । ‘बदलिँदो परिवेशमा डिजिटल मुद्रा चर्चाको विषय बन्न थालेको छ,’ उनले भने, ‘कतिपय देशले डिजिटल मुद्रा प्रयोगमा ल्याइसकेको अवस्थामा बाँकी देशले पनि यसको प्रयोगमा तयारी गर्नुपर्ने परिस्थिति बनेको छ ।’ गभर्नर अधिकारीले नेपालमा पनि केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी) कार्यान्वयनको सम्भावना र त्यसका सरोकारवालाको भूमिकासमेत उल्लेख गरेर राष्ट्र बैङ्कले अध्ययन प्रतिवेदन तयार गरेको गभर्नर अधिकारीले जानकारी दिए ।
अहिले प्रतिवेदनमाथि सार्वजनिक सुझावको आह्वान गरिएको र सुझाव पछि प्रतिवेदनलाई अन्तिम रूप दिइने उनले बताए । ‘अहिलेसम्मको अध्ययनले डिजिटल मुद्राको कार्यान्वयनका लागि यसको पूर्वाधार, जनशक्ति, सेवा प्रदायकसँगको समन्वयजस्ता विषय महत्वपूर्ण हुने देखाएको छ,’ उनले भने । सरोकारवाला सबैको प्रयासबाट मात्रै डिजिटल मुद्रा कार्यान्वयन सम्भव हुने उनको भनाइ थियो । डिजिटल मुद्राको प्रयोग एवं कार्यान्वयनका सन्दर्भमा दक्षिण एसियाली मुलुकले समेत चासो र प्रयत्न अगाडि बढाएका छन् । भौतिक मुद्राको साटो केही देशले प्रयोगमा ल्याइसकेको यस्तो मुद्राको कार्यान्वयन र त्यसका चुनौतीका सन्दर्भमा सदस्य देशबीच बहस समेत सुरु भएको छ ।
सँगै डिजिटल मुद्रा र कर प्रणालीका विषयमा समेत पूर्वतयारीका उपाय खोज्ने क्रममा सदस्य राष्ट्र जुटेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले राजधानीमा आयोजना गरेको दक्षिण एसियाली लेखापरीक्षकको सङ्गठन (साफा) सम्मेलनले डिजिटल मुद्रालाई नै प्राथमिकताको विषय बनायो। ‘अन्तर्राष्ट्रिय कर प्रणाली र डिजिटल मुद्रा २०२२’ नाम दिइएको सम्मेलनले दक्षिण एसियाली परिपे्रक्ष्यमा डिजिटल मुद्राको उपयोगको सम्भावना खोज्ने प्रयत्न गरेको छ ।
त्यसअघि सम्मेलनको उद्घाटन सत्रमा वक्ताहरूले डिजिटल मुद्राको कार्यान्वयन र सरोकारवालाको भूमिकाका विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए । साफा अध्यक्ष एचएम हेन्नायके बन्दराले विश्वव्यापी रूपमा परिवर्तित कर प्रणालीको कार्यान्वयन र डिजिटल मुद्राको सन्दर्भमा सदस्य राष्ट्रबीच सहकार्यको वातावरण निर्माण गर्न सम्मेलनलाई सोही विषयमा केन्द्रित गरिएको जानकारी दिए ।
साफाकै उपाध्यक्ष सीए निहार एन जम्बुसरियाले विगत केही वर्षयता कारोबार डिजिटल प्रणालीमा रूपान्तरण भइरहेकाले त्यसबाट सिर्जना हुन सक्ने चुनौती र त्यसको सहज प्रयोगको उपाय खोज्न सम्मेलन सहयोगी हुने बताउनुभयो। आइक्यान अध्यक्ष भाष्करसिंह लालाले प्रविधिको प्रयोग बढेसँगै कर प्रणाली पनि फेरिएकाले त्यसलाई सार्कको सन्दर्भमा उपयोगका उपाय खोज्ने प्रयत्न सम्मेलनले गर्ने बताए ।
प्रतिक्रिया