बिहीबार, वैशाख ११, २०८२

६० वटा संस्थाहरुद्धारा चार महिनामा १२ खर्ब ६७ अर्बको अन्तर बैंक कारोबार

नेपालखोज २०७९ पुष १० गते १३:५२

काठमाडौं । वित्तीय प्रणालीमा अन्तर बैंक कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो चार महिनामा २६ वटा वाणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुले कुल १२ खर्ब ६७ अर्ब २२ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन् ।

यस अवधिमा बाँणिज्य बैंकहरुले मात्र ११ खर्ब ४८ अर्ब २७ करोड र अन्य वित्तीय संस्थाहरु अर्थात बिकास बैंक र फाइनान्स कम्पनीहरुले एक खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका हुन ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १० खर्ब ४३ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाहरुको एक खर्ब ५८ अर्ब ४० करोड गरी कुल १२ खर्ब एक अर्ब ६२ करोडको अन्तर बैंक कारोबार भएको थियो । अन्तर बैंक कारोबार रकम बढेपछि यसको असर व्याजदरमा पनि परेको छ । २०७८ कात्तिकमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर चार दशमलव ८१ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १० दशमलव ८८ प्रतिशत पुगेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ कात्तिकमा चार दशमलव ९६ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा आठ दशमलव ५० प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर– बैंक ब्याजदर २०७९ कात्तिकमा आट दशमलव ५० प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव ९६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया