दाङका नाकामा कडाइ
दाङ । छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोभिड–१९ संक्रमित भेटिएपछि दाङका सबै नाकामा कडाइ गरिएको छ । बाँकेबाट दाङको तुलसीपुर भित्रिने मुख्य नाका अमिलिया, भालुबाङ, शिवखोलाातिर कडाइ गर्न थालिएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए ।
उनका अनुसार त्यस्तै भारतसँग सीमा जोडिएका कोइलाबास, धौवा, सिरिया, पटौली, सुनतखरीलगायत ३१ नाकामा पनि कडाइ गरिएको छ । तीमध्ये १० नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रजिअ रिजालले जानकारी दिए ।
उनका अनुसार सोही स्थानमा चौबीसै घण्टा कडा जाँच गर्न थालिएको छ । एम्बुलेन्स, खाद्य पदार्थ, पेट्रोलियम पदार्थलगायत सवारी साधनलाई पनि कडा जाँच गरिने छ ।
एम्बुलेन्समा बिरामीसंँग दुई जनाभन्दा बढी कुरुवा लैजान नपाउनाका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राखिने भएको उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्डसमेत राखिने भएको छ ।
प्रतिक्रिया