जापानमा आपतकाल थप एक महिना लम्ब्याउने योजना
काठमाडौँ । जापानी प्रधानमन्त्री सिन्जो आबेले त्यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहेको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पु¥याउने योजना प्रधानमन्त्री आबेले बनाउनुभएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लागेको हो ।
यसैगरी यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणा समेत यसअघि गरिएको थियो ।
जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, त्यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गरेका थिए ।
त्यसक्रममा प्रधानमन्त्री र उनीहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको बुझिएको यहाँका सञ्चारमाध्यमहरुले दिएका छन् ।
समाचारअनुसार प्रधानमन्त्री आबेले सोमबार साँझसम्म पत्रकार सम्मेलन गरेर यस आपतकालको अवधि बढाउने विषयमा जानकारी गराउने बताइएको छ ।
प्रतिक्रिया