बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिनामा ६ खर्ब ६४ अर्ब ७५ करोडको सामान आयात

नेपालखोज २०७९ पुष २९ गते १४:४३

काठमाडौं । सरकारले बिलासी बस्तुहरुको आयातमा कडाई गरेको भएपनि आयात र निर्यातकोबिचको असन्तुलन भने उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो पाँच महिना अर्थात मंसिर मसान्तसम्ममा आयात र निर्यातको बिचमा झण्डै ६ खर्ब रुपैयाँको फरक देखिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा कुल वस्तु निर्यात ३४ दशमलव ६ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपैंयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३ दशमलव सात प्रतिशत र ३५ दशमलव नौ प्रतिशतले घटेपनि अन्य मुलुकतर्फको निर्यात सात दशमलव एक प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, अलैंची, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो पाँच महिनामा कुल वस्तु आयात भने २० दशमलव सात प्रतिशतले कमी आई छ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९ दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० प्रतिशत, २२ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले गिरावट आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल, हवाइजहाजका स्पेयर पार्टस् लगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८ दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४ दशमलव सात प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव एक प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२ दशमलव तीन प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५० अर्ब २० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९२ अर्ब ३४ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया