सामाजिक दूरी कायम गर्दै सडक ढलान शुरु
खोटाङ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन जारी ‘लकडाउन’को अवधिमा सामाजिक दूरी कायम गर्दै यहाँको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम शुरु गरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा अगामी असार मसान्तमा सम्पन्न गर्ने गरी दिक्तेल बजारस्थित रत्नपार्कको किराँत चोकदेखि हाटडाँडासम्मको सडक ढलान गर्न शुरु गरिएको हो ।
क्रमागत योजनाअन्तर्गत पर्ने दिक्तेल बजारको सडक ढलानमा सो विभागले यो वर्ष रु पाँच करोड खर्च गर्ने सांसद विशाल भट्टराईले जानकारी दिए । “दिक्तेलबजारको सडक ढलानमा करिब रु १५ करोड रकम खर्च हुने डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा उल्लेख छ”, उनले भने, “क्रमागत योजना भएकाले यस वर्ष रु पाँच करोड बजेटको मात्र टेण्डर (आशयपत्र) आह्वान गरेर ठेकेदार कम्पनीमार्फत ढलानको काम शुरु गरिएको हो ।”
साँघुरो तथा कच्ची अवस्थामा सञ्चालन हुँदै आएकोे सडक ढलान गर्न अर्थ मन्त्रालयले गत पुस २९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि शहरी विकास मन्त्रालयले मातहतका सो विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन दिए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।
पुरानो संरचनाका घर रहेको सो बजारको ढलान गर्ने जिम्मा दिव्यज्योति–आइडी–रुजन जेभीले लिएको छ । किराँत चोकबाट ढलानको काम शुरु गरिएकोे सडकमा अहिले फराकिलो पार्ने, दायाँ बायाँ पर्खाल हाल्ने, घरको बार्दली तथा बिजुलीको पोल हटाउने, निर्माण सामग्री भित्र्याउनेलगायत काम तीव्र गतिमा भइरहेका छन् ।
दायाँ बाँयाँ छोडेर सडकको मध्यभागमा करिब सात मिटर ढलान गरिने निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि एवं निर्माण व्यवसायी सुनिल राईले जानकारी दिए ।
प्रतिक्रिया