अफगानिस्तानमा ट्रक विस्फोट हुँदा पाँच जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको पूर्वी सहर गर्देजस्थित विस्फोटक पदार्थले भरिएको एक ट्रक विस्फोट गरिँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । अरु १४ भन्दा धेरै घाइते भएका छन् ।
विस्फोटको जिम्मा तालिबान सशस्त्र समूहले लिएको छ । ५६ जनाको ज्यान जाने गरी विस्फोट गरिएको दुई दिनमै अफगानिस्तानमा विहिबार आज अर्को विस्फोट भएको हो ।
ट्रक विस्फोटमा महिला र शिशुहरुको पनि मृत्यु भएको छ । गर्देज सहरस्थित सैनिक अदालत नजिकै बम विस्फोट गरिएको हो । जुन क्षेत्र अत्याधिक जनसंख्या भएका ठाउँमध्ये एक हो ।
तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा यस घटनाको जिम्मा तालिबान सशस्त्र समूहले लिएको बताइएको छ । विस्फोटको क्रममा ट्रक नै उछिट्टिएको स्थानीयहरुले बताएका थिए ।
अफगान राष्ट्रपति असरफ घानीले घटनाको निन्दा गरेका छन् । उनले सेनालाई यसमा सक्रिय हुन आदेश दिँदै घटनाको विरोध जनाएका हुन् ।
प्रतिक्रिया