मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडाैं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ ।
उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन् । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी रहेका १२ लाख ६१ हजार ११८ जनाको हात खाली हुनेछ ।
मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको थियो ।यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता पहिला नै निष्काशन गरिसकेको थियो ।
यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुका लागि ५४ हजार ५७० कित्ता शेयर छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।
मोलुङको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आईपीओ आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया