सात महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । मुलुकले बैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात रेमिट्यान्स रकममा सुधार आएको छ । नेपाल राष्ट्र बैकले आज आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको सात महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्समा २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १० दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ६५ दशमलव नौं प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो सात महिनामा खुद ट्रान्सफर २५ दशमलव दुई प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलव सात प्रतिशतले घटेको थियो । चालु खाता एवं शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।
चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा पुँजीगत ट्रान्सफर १५ दशमलव दुई प्रतिशतले कमी आई पाँच अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब सात करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब एक करोड रुपैयाँले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया