सोमबार, वैशाख ८, २०८२

के हो खोकना ?

सुनील उलक २०७९ चैत ३ गते ८:५७
तस्बिरमा यही ऐतिहासिक सहर खोकनाको ५० वर्ष अगाडीको अवस्था देख्न सकिन्छ ।

खोकनाको नाम धेरैले सुन्नु भएकै होला । खास गरी यो ठाउँ तोरीको तेलको लागी प्रख्यात छ । तर अहिले तेल खोज्न पनि मुस्किल पर्छ । यहाँ चालु हालतको तेल मिल अब केही मात्र बाकी छन् । पहिले यहाँका खेतहरूमा तोरीका पहेँला बारीहरू हुन्थे अहिले सिमेन्टका कङ्क्रिटका बारीहरू छन् । त्यसैले तेलको लागी तोरी भने युक्रेन देखी आउने गर्दछ ।

खोकनामा उत्पादित शुद्ध तेल खासै धेरै पाइँदैन । खोकना नेपालको इतिहासमा जोडिएको अर्को कथा यहाँ बालिएको बिजुली बत्ती हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले यही नजिकैको फर्पिङबाट बिजुली उत्पादन भए पछि पहिलो पटक यसै ठाउँका बासिन्दा सिद्धिलाल महर्जनको घरमा बालिएको थियो । सुरुमा बिजुलीले मान्छे च्याप्प समाएर खान्छ भनेपछि सिद्धिलालले घरभित्र गुलुप हाल्न दिएनन् । जसले गर्दा पिँढीमा बालिएको त्यो बत्ती निभाउने स्विच नभएको हुँदा तीन वर्षसम्म बल्यो । घर छिमेकको लागी उज्यालो दिइरह्यो ।

खोकना अर्को एक महत्त्वपूर्ण इतिहाससँग गाँसिएको पनि छ । यहाँ दसैँ मान्ने गरिँदैन । देशैभर दशैको धूमधाम पर्व मनाइरहँदा यहाँ सिकाली जात्रा मनाइन्छ । खोकना नजिकै रहेको कुदेशमा रहेको सिकाली देवी वास्तवमा महामारीको देवता हुन् । देशमा महामारी फैलियो भने सिकाली देवीलाई विशेष किसिमले क्षमा पूजा गरेर रोकथाम हुने विश्वास गरिन्थ्यो । तर अचेल सिकाली जात्रा भने कायम नै छ । महामारी भने खासै फैलिएको छैन ।

अन्तिम पटक १८औ शताब्दीको मध्यतिर उपत्यका भर बिफरको महामारी फैलिएको थियो । राजा रणबहादुर शाहले राज्यभरका बालबालिकालाई सैनिक लगाएर निष्कासन गरेका थिए । जसले गर्दा साना बालबालिकालाई काखी च्यापेर उपत्यकाबाट नेवारःहरु विभिन्न सहरहरू पुगेका थिए । यसरी इतिहासको विभिन्न समयको साक्षी रहेको खोकना अहिले फास्ट ट्रेकको चपेटामा पारिएको छ । फास्ट ट्रेकको विकल्पहरू हुँदा हुँदै पनि ऐतिहासिक सहर खोकनामाथि नै आँखा गाडिएको छ । यसतर्फ राजनैतिक दलहरूले एक पटक सोच्नै पर्ने हो ।

प्रतिक्रिया