डब्लुएचओले कोरोनाबारे लिएको नीतिबारे छानविन गर्न सदस्य राष्ट्रहरु सहमत
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोरोना भाइरसबारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि सहमत भएका छन् ।
डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको नीतिप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानविन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो ।
डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देशहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोना भाइरसबाट सिर्जित संकटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्यांकन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।
जसमा डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानविन र उनीहरूको सीमासमेत रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।
उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका थिए ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका थिए ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पको रहेको छ । एजेन्सी
प्रतिक्रिया