सक्दिन म नेता बन्न
केशव आचार्य
२०७९ चैत ११ गते ७:५१

सक्दिन म नेता बन्न, ढाँट्नु पर्दो रैछ ।
हिजो बोल्या कुरा आफै, काट्नु पर्दो रैछ ।
जाल झेल धोका धडी, आफू भित्र पाली,
मै हूँ ठूलो भनी फुर्ति , छाँट्नु पर्दो रैछ ।
भन्या मान्ने,ताली हान्ने, बाहेक् अरुलाई,
छि छि, तुच्छ गाली गरी, डाँट्नु पर्दो रैछ ।
आफू भन्दा बढि जान्ने,अर्को निस्क्यो भने,
बाध्य भई आफैं पनि, फाट्नु पर्दो रैछ ।
भए जति लाज घिन, सबै पचाएर,
आफैले थुक्या थुक नि, चाट्नु पर्दो रैछ ।
को हो शत्रू, को हो मित्र, चिन्न नसकेर,
अति स्वार्थी माया मात्र, साट्नु पर्दो रैछ ।
सम्बन्धित
प्रतिक्रिया