तेस्रो बुद्ध थिएटर फेस्टिभल आजदेखि

काठमाडौं । विश्व रंगमञ्च दिवसको अवसर पारेर बुद्ध थिएटर फेस्टिभलको तेस्रो संस्करण आज सोमबारदेखि काठमाडौंमा हुने भएको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा हुने महोत्सव चैत १७ गतेसम्म चल्नेछ । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा ‘छक्कापञ्जा ४’ फेम्ड अभिनेता पुष्कर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार पाँच दिनसम्म चल्ने फेस्टिभलमा नेपालका ६ वटा नाटक मञ्चन हुनेछन् भने माया थापाको निर्देशन तयार भएको नृत्य नाटक ‘चण्डालिका’ समेत मञ्चन हुनेछ ।
महोत्सवका क्रममा अभिनेता तथा निर्देशक अनुप बराललाई ५० हजार रुपैयाँ राशीको ‘डबली अवार्ड’ प्रदान गरिनेछ । यसअघि फेस्टिभलमा विदेशी नाटक पनि समावेश गराइएको थियो तर भनेजस्तो नाटक नआएपछि यसपटक नेपालीलाई मात्र समावेश गरिएको हो ।
यो फेस्टिभल बागमती प्रदेश सरकारको सहयोग तथा सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनामा हुन लागेको हो ।
प्रतिक्रिया