बिहीबार, वैशाख ११, २०८२

चलचित्रमा रङ्ग पत्रकार

नेपालखोज २०७९ चैत १३ गते १०:०२

काठमाडाैं । पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ। पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् ।

समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचाैँ चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन सुरू गरेकाछन्। एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको कलाकारले अभिनय गर्दै छन् । “कार्यशाला गरेर छायाङ्कनमा निस्किएकाले निर्धारित समयमै सम्पन्न गर्छौँ भन्ने आश छ । आउँदो वर्ष प्रदर्शन गर्ने लक्ष्य छ”, निर्देशक लामाले भने । उनी पत्रकारिता छाडेर अहिले लेखन तथा निर्देशनमै व्यस्त छन् । रङ्ग पत्रकार हुँदै चलचित्रकर्मी बनेका सुशील पौडेलको लेखन रहेको ‘प्रसाद–२’ यही चैत २४ मा प्रदर्शन हुँदैछ ।

“प्रसादपश्चात् यसको दोस्रो शृङ्खला लेखेको हुँ । समय मिल्दा र कार्यशैली मिल्ने टिम हुँदा काम गरिरहेको छु”, लेखक पौडेलले भने । उनी पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ । लेखक पौडेल झैँ पत्रकारितासँगै लेखनमा सक्रिय सामिप्यराज तिमल्सेना अझै केही समय निर्देशनमा आउने सोचमा नरहेको बताउछन् । “अफर त आइरहेको हुन्छ । तर म पत्रकारितासँगै लेखनमै सक्रिय छु”, लेखक तिमल्सेनाले भने, “अहिलेको समय हामीले सिक्ने हो । चलचित्रमा देखिएको परिवर्तनको निष्कर्ष बुझ्नु जरुरी छ ।”

रङ्ग पत्रकार डब्बु क्षेत्री म्युजिक भिडियो निर्देशन र गीत रचनामा व्यस्त छन् । अहिले फिल्म निर्देशन गर्ने उनको सोच छैन । ‘फिटकिरी’ बाट लेखन सुरू गरेका पत्रकार यज्ञश निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको कथा लेखिरहेका छन् । यस्तै अधकट्टी र सुश्री सम्पत्ति निर्देशन गरिसकेका पत्रकार सुव्रत आचार्य ‘टिभी शो’को तयारी गरिरहेका छन् । चलचित्र निर्देशन केही समय थाती राख्दै उनको सक्रियता म्युजिक भिडियो निर्देशनमा बढेको छ । ‘एउटा साथी’ निर्देशन गरेर निर्माणमा समेत सक्रिय लक्ष्मण सुवेदी ‘सतीदेवी’ को तयारीमा छन् । यसमा उनले शीर्ष भूमिकामा मलिका महतलाई अनुबन्धित गरेका छन् । कार्यशाला भइरहेको चलचित्रको छायाङ्कन छिटै हुने उनले बताए ।

प्रतिक्रिया