उति बेलाको महामारी

तीन वर्ष अगाडि कोभिडको सन्त्रासले आम जीवनमा सकस परिरहेको समय २२५ वर्ष अगाडि नेपालमा फैलिएको महामारीका बारेमा लेखेको थिएँ । त्यस बेला फैलिएको महामारी रोग बिफरको त्रास र पीडा एकातर्फ थियो भने राज्यबाट अमस्मात गरिएको निर्णयका कारण साना साना बालबालिकाका बाबुआमाले झेल्नुपरेको पीडा अझ भयावह थियो । राजा रणबहादुर शाहले त्यस बेला महामारी रोगबाट बच्न साना साना बालबालिकाहरूलाई नै देश निकालाको घोषणा गरे । जसले गर्दा ती बच्चाहरू च्याप्दै बाबुआमा रुँदै पूर्वमा तामाकोसी र पश्चिममा मर्स्याङ्दी पारी जान बाध्य भए ।
हुन त नेपालमा बिफरको महामारी धेरै पटक भएको थियो । प्रताप मल्लका कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको निधन पनि बिफरबाट बि.सं. १७४६ मा भएको भन्ने इतिहास पाइन्छ । राजा गीर्वाणको मृत्यु पनि अन्ततः बिफरबाट नै भएको थियो । उनकै समयमा बेलायती रेसिडेन्टलाई बिफर विरुद्धको खोपको लागि अनुरोध गरे पनि अन्तमा राजा गीर्वाणले खोप लगाउन मानेनन् । जसले गर्दा १८७३ मङ्सिर ७ गते बिफरकै कारण राजा गीर्वाणको केवल १८ वर्षको उमेरमा देहान्त भयो । पछि जङ्गबहादुरले आफ्ना जेठा छोरालाई बिफर विरुद्धको सुई लगाएर नेपालमा बिफर विरुद्ध खोपको सुरुवात गरेका थिए ।
नेपालमा पछिल्लो महामारी राजा रणबहादुर शाहको समयमा बि.सं. १८५४ तिर आएको थियो । त्यो समय लागेको बिफरको महामारीले धेरैको ज्यान गयो । बिफरको त्रासदीले हरेक परिवारमा रुवावासी चलिरहेको थियो । कैयौँको मृत्यु भयो कैयौँ अनुहार भरि दाग बोकेर बाँचे ।
यही समय उपत्यकावासीको लागी अर्को त्रासदी झेल्नु पर्यो । बौलाहा राजाले आफ्नो प्यारो कान्छी रानी तर्फबाट जन्मिएको एक मात्र छोरा गीर्वाणलाई रोग नलागोस् भनेर उपत्यकामा रहेका सबै बच्चाहरूलाई देश निकाला गर्ने आदेश दिए । राजाले ब्राम्हणी कान्तादेवीलाई उनबाट जन्मने छोरालाई नै राजा बनाइदिने बचन दिएका थिए । त्यसैले पनि राजा रणबहादुर बालक गीर्वाणको स्वास्थ्य प्रति बढी चिन्तित थिए ।
राजको हुकुम पछि सैनिकहरू घर घर आएर बच्चालाई निकाल्ने अथवा मार्ने धम्की दिन थाले । यसरी एकातर्फ बालबालिकाको बिमारीको पिडा अर्को तर्फ त्रासले जनता दुखी भए । अन्ततः लाचार बाबुआमा बच्चालाई लिएर निस्किन बाध्य भए । ती उपचार पाउनुको साटो घरबार छोडेर जान बाध्य आमाबुबा बच्चालाई काखमा बोकेर कोही पूर्व तर्फ लागे कोही पश्चिम तर्फ लागे कहाँ जाने कुनै ठेगान थिएन । अन्जान ठाउँमा कोही आफन्त पनि थिएन ।
बिरामी बच्चाहरू लिएर पूर्वमा तामाकोसी पारी र पश्चिममा मर्स्याङ्दी पारी जानुपर्थ्यो । बाटोमा बच्चाको मृत्यु भएमा पनि सदीगत गर्ने छुट थिएन । न त जलाउन पाउँथे न त गाड्न नै पाउँथे । खोलामा बगाउन बाध्य हुनुपर्थ्यो ।
पूर्व लागेका नेवाःहरु भोजपुर, चैनपुर, धनकुटा पुगे पश्चिम लागेका नेवाःहरु गोरखा, लमजुङ, पोखरा पुगे । यसरी उपत्यका छोड्न बाध्य नेवा: बाबुआमाको पिडा समेटेको पुरानो नेवारी गीत निकै प्रचलित छ । अचेल धेरैले यो गीत बिर्सिसकेका छन् । यहाँ मैले सो शीतला माजुको गीत वास्तविक नेवारी र त्यसको नेपाली भाषानुवाद राखेको छु । अति नै पिडाले भरिएको यो गीत भाषानुवाद गर्दा मेरो आँखामा आँसु नै आयो ।
पढ्नुहोस् नेपाली भाषामा शीतला माजुको गीत :
शीतला माजु हेर्नुहोस् प्रजाको कस्तो दुखको हालत
नसुनेको नदेखेको बिफर लागेको बच्चा राख्न नपाउने
महाराजको हुकुम आयो
नाय खिँ बजाएर सिपाहीले घेरेर
सानो बच्चा निकालियो
खानलाई च्यूरा लिई बच्चालाई पिठ्यूँ बाँधेर
जानुपर्यो तामाकोसी पारि
एउटा बच्चा पिठ्यूँ बोकी अर्को बच्चा कमरमा बाँधी
अर्को बच्चा हातले डोर्याउदै
काठमाडौँबाट निस्किएर भक्तपुरमा बास बसे
तलेजु माताको दर्शन गरी
भक्तपुरबाट फेरी बनेपामा बास बसे
चन्देश्वरी दर्शन गरी
बनेपाबाट हिँडेर पलान्चोकमा बास बसे
भगवती दर्शन गरी
पलान्चोकबाट हिँडे दोलाल घाटमा बास बसे
भीमसेनको दर्शन गरी
दोलाल घाटबाट हिँडी तामाकोसी बास बसे
अझै जानु छ तामाकोसी पारी
दोलाल घाटबाट तामाकोसी पारी पुगे
महादेवको दर्शन गरे
खानलाई केही छैन लगाउने कपडा छैन
बस्नलाई बास छैन
लट्ठी होइन कोर्रा होइन
सिस्नो मुठोले हानि
हानि सिपाहीले घेरेर ल्यायो
हे बिफर दिने कछला माजु
त्यसमा पानी भर्ने सितला माजु
जीवन लिने बछला माजु
बच्चा यदि बाँचे भने
एक जोडी परेवा उडाउँला
सुन चाँदीको फूल चढाउँला
अचानक बच्चालाई चिसो लाग्यो
घाम नभएको त्यो ठाउँमा
बच्चाको जीवन लग्यो
आमाबाबु छाती पिटी रोए
मरेको बच्चा जलाउन नपाउने
मरेको बच्चा गाड्न नपाउने
खाल्डो खनि गाड्न नपाउने
है दैव कस्तो सजाय यो
एकातिर आमाले समाए
अर्कोतिर बाबाले समाए
मरेको बच्चा तामाकोसी खसालिदिए
गोरखा राजालाई बिन्ती गर्छु
कस्तो सजाय तिमीले दियौ
गोरखा देशबाट आएर
नेपाल राज्यका राजा भएका
रणबहादुर तिम्रा कारणले
जनताले दुख पाए
हे शीतला माजु
लाख लाख बिन्ती गर्छु
लोकको उद्धार गर्नु ।

प्रतिक्रिया