बुधबार, वैशाख १०, २०८२

कोरोना संक्रमण भए के गर्ने ?

नेपालखोज २०७९ चैत २९ गते ६:१८

काठमाडौं । यदि सरकार र जनता पुरै सतर्क भएर आ-आफ्नो दायित्व पालना गर्ने हो भने कोरोनाको सम्भावित क्षतिबाट हामी जोगिन सक्छौं ।

यो कुरा पक्का हो कि कोरोनाको अब आउने लहर यश अघिका लहर जस्तो घातक हुने छैन । लाखौं नागरिकले खोप लगाएको , दोस्रो-तेस्रो लहरको संक्रमणले लाखौं व्यक्तिमा प्राकृतिक एण्टिवोडी बनेको, दोस्रो-तेस्रो लहरका बेला भएको स्वास्थ्य प्रणालीको मजबुती, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अनुभव तथा भारत तथा अन्य देशमा चलाइएको ब्यापक खोप अभियान तथा जनचेतनाका कारण पेनिक हुनु जरुरी छैन । कोरोना भाइरसबाट डराउनु पर्दैन , सतर्क बने पुग्छ ।

अहिले भारत लगायत नेपालमा कोरोना सानो संख्यामा देखिएको छ । सरकारले बाहिरबाट आउने व्यक्तिलाई परिक्षण तथा निगरानीमा राख्ने, खोप र मास्क अभियानलाई प्रभावकारी वनाउने र यो कोरोनाका बारेका भ्रम निवारण गर्ने काम द्रुत गतिले गर्नु जरुरी छ।

खोप र मास्कले नै हामी सुरक्षित हुने हो । कोरोना भाइरसको म्युटेशन नियमित प्रक्रिया हो तसर्थ यसबाट आत्तिहाल्नुपर्ने अवस्था छैन् ।

१. अहिले फैलिरहेको कोरोनाको प्रजातिबाट संक्रमित १ जना व्यक्तिले कति जनालाई सार्न संक्रमित गर्न सक्छ ?
२. खोप लगाएका कतिजना संक्रमितको मृत्यु हुनसक्छ ?
३. यसको मृत्युदर कति छ ?
४. खोप लगाएका मध्ये कुन खोप लगाएका व्यक्तिलाई बढी असर गरेको छ ?

यी र यस्तै प्रश्नको उत्तर नआएसम्म हामी डराउनु पर्दैन । सतर्कता जुनसुकै बेला पनि कायम गर्नु सुरक्षित उपाय हो । माथिका प्रश्नको उत्तर नआएसम्म सामान्य साबधानि बाटै हामी यसलाई पराजित गर्न सक्छौं ।

अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका विभिन्न प्रजाति नेपालमा पनि देखा परिसकेको छ । पहिलेको संक्रमणदरका आधारमा हेर्दा यसको फैलाबट ठूलो समुदायमा हुनसक्ने कुरालाई नकार्न सकिदैन । यसको प्रकोप हेर्दा लाग्छ मानव जातिले कोरोनाबाट मुक्ति पाउन अझै केही वर्ष कुर्नुपर्ने छ । सुखद कुरा के छ भने अहिले कोरोनाका त्यति गम्भीर केस देखिएको छैन् ।

के गर्ने ?
१. कडा रुघा वा जीउ दुख्ने र जाडो हुने भए तत्काल पिसिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।

२. पिसिआर पोजिटिभ देखिए डर नमान्ने र पटक्कै नआत्तिने । खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।

३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार पनि प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीको पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने । मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने अनि तातो पानीको बाफ लिने कामले राहत प्रदान गर्छ ।

४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाने कुरा खासै बार्नु पर्दैन ।
५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि ९ रोगप्रतिरोधात्मक क्षमता बढाउने ० आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्ने ।

६. ज्वरो आए र टाउको तथा शरीर दुखे पारासिटामोल, खोकी लागे एलर्जीको ट्याब्लेट र कफ सिरप, नाक बन्द भए नोजल ड्रप आदि प्रयोग गर्ने । घांँटी दुखे गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।

७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने ।

८.अक्सिमिटरले अक्सिजन नापिरहने ।

९. घांँटी धेरै दुखे, सामान्य उपचारले खोकी वा ज्वरो निको नभए चिकित्सकको सुझाब अनुसार ओैषधि प्रयोग गर्ने ।

१०. अक्सिजनको स्तर घटे, सास फेर्न गाह्रो भए , खान खान नसके तथा अन्य गाह्रो भए तुरुन्त अस्पतालमा जाने ।

प्रतिक्रिया