विषुवत सङ्क्रान्ति र बिस्का

सम्भवतः उपत्यका भित्र मनाइने सबैभन्दा पुरानो जात्रामा बिस्का: पनि पर्दछ । यसलाई लिच्छवी कालदेखि नै मनाइँदै आएको भन्ने मान्यता छ । वैशाख सङ्क्रान्तिको अघिल्लो दिन यस पर्व मनाउन सुरु भएर नयाँ वर्षको दिन समाप्त हुने चलन छ । यो जात्राले पुरानो सालको बिदाइ र नयाँ सालको स्वागत एक साथ गर्ने गर्दछ ।
वैशाखमा हामी नयाँ वर्ष मनाउँछौ । तर सातौँ शताब्दीमा महिनाहरूको सुरु भइसकेको थिएन तर राशिका नामहरू सुरु भइसकेको थियो । जसअनुसार मेष राशिबाट वर्षको सुरुवात हुन्थ्यो भने मीन राशिमा पुगेर वर्षको अन्त्य हुन्थ्यो । मेष राशिमा सूर्यले प्रवेश गर्ने यस दिनलाई विषुवत सङ्क्रान्ति पनि भन्ने गरिन्छ । विषुवत दिनलाई अङ्ग्रेजीमा Equinox Day भनिन्छ । यस दिनमा दिन र रात बराबर हुन्थ्यो । तर अचेल हुँदैन । अङ्ग्रेजी महिना मार्च 21 मा दिन र रात बराबर हुन्छ । तसर्थ चैतको ७-८ गते तिर नै विषुवत दिन हुने गर्दछ । तर हामी २५-२६ दिन पछि नयाँ वर्ष मनाइहेका छौ । यहाँ विज्ञहरू नै सूर्य विषुवत रेखामा प्रवेश गर्ने भएको हुँदा विषुवत सङ्क्रान्ति भनिएको भन्ने प्रचार गर्ने गर्दछन् । हामीले बनाउँदै र हेर्दै आएको पात्रो तथा क्यालेन्डर सबै गलत छन् । पर्व सुधार समितिले यस सम्बन्धी जानकारी नेपाल सरकारलाई दिइए पनि सुधार गरिएको छैन ।
उपत्यकामा लिच्छवी काल देखि मनाउँदै आइरहेको बिस्का र पश्चिम नेपालमा मनाइने बिषु पर्व यी दुवै बिषुवत सङ्क्रान्तिमा मनाउने पर्व हो । तर अचेल हामी वैशाख सङ्क्रान्तिका दिन मनाउने गर्दछौ । विषुवत सङ्क्रान्ति त २२ दिन अगाडि नै बितिसक्यो । भारतमा विषुवत सङ्क्रान्तिका दिन नै नयाँ वर्ष २०८० को शुभारम्भका रूपमा मनाइसके । वैशाखको पहिलो दिन राख्नका लागि त्यहाँ पनि सुधार भइसकेको छैन । तर पनि बाकी वार्षिक फलहरू यही आधारमा राख्न थालिसके । उत्तर भारतीय पण्डितहरूले चैत्र शुक्ल प्रतिपदाका दिन देखि नै नयाँ वर्ष २०८० लाई मानेका हुन । तर दक्षिण भारतीय पण्डितहरू भने कार्तिक शुक्ल प्रतिपदामा मात्र नयाँ वर्ष मान्ने गर्दछन् ।
बिस्का: सम्बन्धी धेरै किंवदन्ती प्रचलित छन् । विभिन्न मल्ल राजाको समयमा विभिन्न कथा गाँसिएका छन् । काशी विश्वनाथलाई पनि बिस्केट जात्रासँग गाँसेको पाउँछौँ । कुनै बेला विश्वनाथ बिस्काः हेर्न आउँदा तान्त्रिकले थाहा पाएर तान्त्रिक शक्तिले समाउन खोज्दा टाउको छुटाएर शरीर मात्र काशी फर्केको किंवदन्ती छ । नेपालमा छोडिएको शिरलाई नै यस जात्रामा रथ यात्रा गरेर मनाउने परम्परा रहेको विश्वास गर्ने गरिन्छ ।
बिस्का:को मूल देवता नै विश्वनाथ भैरव हुन् भन्ने धेरैको विश्वास छ । तर विश्वनाथ भैरव, काशी विश्वनाथको शिर होइन, त्यति बेला लिच्छविहरू तथा तान्त्रिकहरूका गुरु भैरव हुन । त्यसैले बिस्का:मा भैरवीको रूपमा नकिंजु अजिमा, उनको वाहन वीर र वेताल, अष्ट मातृका गणहरू भद्रकाली, दुमाजु देवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी तथा छुमा गणेशको पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता तान्त्रिक शक्तिको लागि पूजा गरिने देवीदेवता हुन् । पूजामा तान्त्रिक रूपमा पञ्चतत्व अर्थात् सम्हेयबजी चढाउने गरिन्छ र प्रसादको रूपमा खाने गरिन्छ । सम्हेयबजीमा राख्नुपर्ने पाँच बस्तु जीवनको आवश्यक पाँच तत्त्वको प्रतिकका रूपमा रहेको छ । जल, थल, आकाश, वायु तथा अग्निका रूपमा जलचर माछा, थलचर थलिय जीवको मासु, आकाशका रूपमा पन्छीको अण्डा (हाँस वा कुखुरा), वायुका रूपमा मुंगको बारा, अग्निका रूपमा अयला राख्ने गरिन्छ ।
नेवा: हरू भैरवलाई योम्हसिद्ध (मन पर्ने सिद्ध देवता) अर्थात् यो सिंह द्य भन्ने गर्दछन् भने भैरवकै अर्को रूप भीमसेनलाई भीँद्य (असल देवता)को रूपमा पुज्ने गर्दछन् । तसर्थ नेवा: बाहुल्य हुने हरेक सहरमा भीमसेन तथा भैरवको मन्दिर हुने गर्दछ । अझ बढी भैरवलाई विशेष रूपले आस्था भक्तपुरका नेवा:हरुले गरेको पाउँछौ ।
बिस्का:संगै नाग नागिनीको कथा पनि गाँसिएको हामी पाउँछौ । लिच्छवी राजा शिवदेव दिवतिरको समयमा किराँती आक्रमणबाट जोगाउन तान्त्रिक शेखर आचाजुले आफू बाघ भएर हजारौँ अन्य बाघ पनि आफ्नै शक्तिले तैयार गरेर किराँतीहरूलाई भगाएका थिए । पछि राजाले धूमधामले सिन्दूर जात्रा गरेर घर पठाउँदा तान्त्रिक शेखर आचाजुका श्रीमती नररुपाले श्रीमानको यो शक्तिको कुरा सुनेपछि श्रीमान् सामु आफूले कहिल्यै अजिङ्गर नदेखेको हुँदा अजिङ्गरको स्वरूप देखाउन अनुरोध गरे । आचाजुले मन्त्र फुकेको चामल श्रीमतीलाई दिएर भने सुरुमा चामल छर्केर अजिङ्गर बनाउने र पछि फेरी अर्को चामल छर्केर मानिसको स्वरूपमा फर्काउन अह्राए । नररुपाले सुरुको चामल छर्के जसले गर्दा श्रीमान् भयङ्कर अजिङ्गर बने । तर अजिङ्गरको स्वरूप देखेर तर्सिएका श्रीमती भागे । श्रीमान् चामल नछर्कीकन भागेका श्रीमतीको पछि पछि लागे । यसले गर्दा झन् तर्सिएका श्रीमतीको हातको चामल आफ्नो शरीरमा पर्न गयो । जसले गर्दा श्रीमती पनि अजिङ्गर बने । यसरी दुवै श्रीमान् श्रीमती अजिङ्गर बनेपछि राजा कहाँ पुगे । शायद राजाले थाहा पाएर मानिसको स्वरूपमा फर्कन मद्दत गर्ने आशामा रहेका आचाजु दम्पती राजाबाट पनि सहयोग नपाए पछि योसिंखेलको प्वालमा पसेर आत्महत्या गरे । यही जोडी नाग नागिनीको प्रतीक स्वरूप बिस्का: को रथमा लामो काठमा नाग नागिनीको स्वरूपको रूपमा झुन्ड्याएर प्रदर्शन गर्ने जात्राको रूपमा बिस्का: चलेको भन्ने किंवदन्ती प्रख्यात छ ।
आखिर जे जसरी यस जात्राको व्याख्या गरिए पनि मातृसत्तात्मकको अन्त्य भई पितृसत्तात्मकको सुरुवात भएको खुसीयालीमा नै यो पर्व मनाइन थालेको भन्ने बुझ्दछौ । साथै यो पर्व मनाउने समय बाह्र राशिको समाप्ति पछि नयाँ युगको सुरुवातको खुसीयालीमा पनि मनाएको देखिन्छ । लिच्छवी कालको सातौँ शताब्दी तिरबाट यो जात्रा मनाउन थालिएको तथ्यलाई मान्न थाल्यौ भने पनि सो समयमा वैशाख जेठ नामक महिनाहरूको सुरुवात भएको थिएन । एक वर्षमा सूर्यले बाह्र राशि परिक्रमा गर्ने मान्यताको सुरुवात भइसकेको थियो । यसर्थ मेष देखी मीन सम्मको बाह्र राशिको परिक्रमा पछि पुन मेष राशिमा अर्थात् विषुवत् दिनमा प्रवेश गर्ने हुँदा यो जात्रा मनाउन थालिएको पाउँछौ ।
बिस्काको सुरुवात बिस्का सुरु हुनु भन्दा करिब १४-१५ दिन अगाडि तलेजुका पुजारीले शुभ दिन निकालेर भक्तपुर देखी पूर्व (साँगा देखी उत्तर)मा रहेको चित्त पोलको सल्लाघारी वनमा लिङ्गो खोज्नेबाट सुरु हुन्छ । विशेष गरेर भक्तपुर गोल मढीका मानन्धरहरू पूजाआजा र बाजागाजा सहित लिङ्गोको लागी उपयुक्त सल्लाको रुख लिन जाने गर्दछन् । उपयुक्त रुख छाँट्नको लागी वनमा पुगेपछि पूजा गरेर बोका छोडिन्छ । बोकाले सबैभन्दा पहिले छोएको रुखलाई नै लिङ्गोको लागि उपयुक्त मानिन्छ । बोकाले छोएको रुखलाई पूजा गरेर त्यही बोकाको बलि दिएर विधिपूर्वक पूजा गरिन्छ । त्यसपछि रुख काटेर ढालिन्छ । यसरी काटिएको रुखको सबै हाँगा काटिन्छ । रुखको टुप्पामा भएको हाँगा भने काटिँदैन । यसलाई देवताको शिर मान्ने गरिन्छ । रुखको उचाइ कम्तीमा ५५ हातको हुनुपर्छ तर सकेसम्म सल्ला नै रोजिन्छ ।
यो जात्राको नाम बिस्केट जात्रा भनिए पनि वास्तवमा विश्वध्वज जात्रा नै हो । यस ५५ हात लामो सल्लाको खाँबोमा जोडी ध्वजा सजाइएको हुन्छ । यो नै विश्वनाथको प्रतीक हो । तसर्थ यो जात्रा विश्वध्वज जात्रा हो भन्नेमा अत्युक्ति नहोला ।
बिस्केट जात्रा सामाजिक सद्भावको जात्रा पनि हो । विभिन्न समाज एकसाथ मिलेर बिस्केट जात्रा मनाउने गर्दछ । चैत्र महिनाको सुरु तिर नासमना र तेखाचोका शिल्पकारहरू तथा दतात्रेयका मानन्धरहरूले भैरव र भद्रकालीको रथ बनाउन थाल्दछन् । रथमा मोटो मोटो बेतको डोरी बाँध्ने काम पनि मानन्धरहरूले नै गर्न थाल्दछन् । रथलाई रंगरोगन गरेर सजाउने काम चित्रकारहरूले गर्दछन् । ल्योसिंखेलका द्य:लाहरुले नायखीँ बजाउने तथा लिङ्गो ठड्याउन आवश्यक व्यवस्था मिलाउने गर्दछन् ।
पहिले बिस्काको रथ तान्ने क्रम रमाइलोका रूपमा हुने गर्दथ्यो । तर अचेल भने झगडा गर्ने थलो जस्तै भएको छ । सभ्य रूपले सांस्कृतिक पर्व मनाउनु अति नै आवश्यक भइसकेको छ ।
प्रतिक्रिया